काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्क प्रालि लगायतमा सहकारीबाट प्रवाह भएको रकमको कागजात मगाउने निर्णय गरेको छ ।
समितिको बुधबार बसेको बैठकले आइडियल यमुना बहुउद्देश्यीय सहकारी, इमेज, सहारा, समानता, सानो पाइला, सुप्रिम, सूर्यदर्शन, सुमेरू र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबाट गोरखा मिडिया लगायतमा प्रवाह भएको रकमको कागजात उपलब्ध गराउने निर्णय गरेको हो ।
समितिले ती सहकारीहरूको पछिल्लो साधारण सभाको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र वित्तीय विवरण माग गर्न पत्राचार गर्ने निर्णय गरेको हो ।
गृहमन्त्री रवि लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक थिए । सञ्चालकले जथाभावि बचतकर्ताको रकम दूरुपयोग गरेपछि अहिले ती सबै सहकारी बन्द छन् । केहि सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ । ती सहकारीका बचतकर्ताले आफनो रकम फिर्ता पाउनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका छन् ।