दलित समुदायको सशक्तिकरणसम्बन्धी विधेयकमा छलफल सुरू

कर्णाली । कर्णाली प्रदेशसभामा ‘दलित समुदायको सशक्तिकरण तथा जीवनस्तर प्रवर्द्धनका लागि व्यवस्था गर्न बनेको विधेयक २०८०’ माथि छलफल सुरु भएको छ ।
आजको प्रदेशसभाको २३औँ बैठकमा सभामुख नन्दा गुरुङले सामाजिक विकासमन्त्री वीरबहादुर शाहीलाई कर्णाली प्रदेशसभा नियमावली २०७९ को उपनियम ११३ को उपनियम १ को खण्ड ९क० बमोजिम विधेयकमाथि विचार गरियोस् भनी सभामा प्रस्ताव गर्न समय दिनुभयो । मन्त्री शाहीले सभामा राखेको प्रस्ताव सर्वसम्मतले पारितभएसँगै छलफल सुरु भएको हो ।
छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य वेदराज सिंहले कर्णालीको कूल जनसङ्ख्यामध्ये करिब २४ प्रतिशत दलित समुदाय रहेको र उनीहरूको जीवनस्तर उकास्न अझै अपेक्षित काम हुन नसकेको बताउनुभयो । उहाँले विधेयकले दलितलाई समाजमा सम्मानित जीवन बाँच्ने अधिकार सुनिश्चित गर्ने बताउनुभयो ।
प्रदेशसभा सदस्य मङ्गलबहादुर शाहीले जातीय विभेद अन्त्य गर्न विधेयकले सहयोग पुग्ने बताउनुभयो । उहाँले दलित वर्गलाई राजनीतिक, सामाजिक र आर्थिक अधिकार प्रदान गरी जीवनस्तर सुधार्न विधेयक ल्याउनुपर्ने धारणा राख्नुभयो ।
प्रदेशसभा सदस्य जीतबहादुर मल्लले विधेयकमार्फत छुवाछूत र जातीय आधारमा हुने सबै खालका विभेद अन्त्य गरी समानतामूलक समाज निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । विधेयकको दफा ४ मा निःशुल्क शिक्षा र दफा ९ मा स्वास्थ्य उपचार सेवा छुट गर्नेसम्बन्धी व्यवस्था सबै दलितका लागि हो वा होइन भन्ने विषय प्रस्ट हुनुपर्ने उहाँको सुझाव थियो ।
प्रदेशसभा सदस्य कल्याणी श्रेष्ठले भूमिहीन दलितलाई जमिन उपलब्ध गराउने व्यवस्था गर्न माथ गर्नुभयो ।  सदस्य बिन्दमान विष्टले जातीय विभेद अन्त्य, मानव अधिकारको संरक्षण र दलितलाई मूलप्रवाहमा विधेयकले योगदान गर्नुपर्ने धारणा राख्नुभयो । विधेयकमा प्रदेश सरकारको भूमिका समेत प्रस्ट गरिनुपर्ने उहाँले सुझाव दिनुभयो ।
छलफलमा प्रदेशसभा सदस्यहरू घनश्याम भण्डारी, कलबहादुर हमाल, उर्मिला विश्वकर्मा, लक्ष्मी सुनार, दक्षिणा शाहीलगायतले भाग लिनुभएको थियो । बैठकमा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्न र जिज्ञासाबारे जवाफ दिँदै सामाजिक विकास विकासमन्त्री शाहीले विधेयकलाई सुझावअनुसार थप सुधार गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
छलफल सकिएसँगै सभामुख गुरुङले विधेयकमा संशोधनको सूचना पेस गर्न चाहने प्रदेशसभा सदस्यका लागि ७२ घण्टाको समयसीमा दिनुभएको छ । प्रदेशसभाको अर्को बैठक यही असार २८ गते दिउँसो ३ बजे बस्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज