प्रधानमन्त्री दाहाल पदमुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा राखेको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । योसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका छन् ।

१८ महिनामा एमालेसँग दुई र कांग्रेससँग एक पटक गरेर तीन पटक गठबन्धन बदलेका प्रधानमन्त्री दाहालले कांग्रेस र एमालेबीच सत्ता साझेदारीका लागि सातबुँदे सहमति भएपछि प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव गरेका थिए । नेकपा एमालेसँग सत्तासाझेदारी गरेर प्रधानमन्त्री बनेका दाहाल एमालेले समर्थन फिर्ता लिएपछि संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उपस्थित २५८ मध्ये दाहालको पक्षमा ६३ मत मात्र परेको थियो । उनको विपक्षमा १९४ मत पर्‍यो । मत दिन्न भन्नेमा १ मत परेको थियो । प्रधानमन्त्री बन्नका लागि १३८ मत आवश्यक हुन्छ । दाहालको प्रस्ताव अस्विकृत भएसँगै उनी पदमुक्त भएका हुन् ।

२०७९ पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले पहिलो पटक पुस २६ गते विश्वासको मत लिँदा उनको पक्षमा २६८ मत परेको थियो भने विपक्षमा २ मत मात्र परेको थियो ।

दोस्रो पटक २०७९ चैत ६ गते दाहालले १७२ मत पाएका थिए भने तेस्रो पटक २०८० फागुन ३० गते र चौथो पटक २०८० जेठ ७ गते विश्वासको मत लिँदा समान १५७ मत पाएका थिए ।

दाहाललाई नेकपा माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले मात्र मत दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज