काठमाडौँ । अधिवक्ता नानी थापा भन्ने लक्ष्मी थापाविरुद्ध अख्तियारमा उजुरी दर्ता भएको छ ।
सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका– ६ घर भएकी नानी थापाले दोहोरो सुविधा लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा साउन १ गते उजुरी दर्ता भएको हो ।
काठमाडौँ जिल्ला अदालतमा २६ वटा मुद्दामा प्रतिवेदन दिएर उनले रकम लिएको जिकिर गर्दै उजुरकर्ताले दोहोरो सुविधा लिएको घटनामा छानबिन र अनुसन्धान गर्न माग गरेका छन् ।
प्रमाणपत्र नम्बर– १६८५१ बाहक थापा सिन्धुपाल्चोक जिल्ला अदालतको वैतनिक वकिल हुन् । रा.प तृतीय शाखा अधिकृत सरहको तलब सुविधा लिने गरी उनी त्यहाँ २०७९ चैत २५ मा नियुक्त भएकी थिइन् ।
काठमाडौँ जिल्ला अदालतमा पनि उनले बाल मनोविज्ञ नियुक्त भएर काम गरेको र तलब, भत्ता बुझेको भेटिएको छ ।