पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

सर्लाही । पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । आइतबार राती सर्लाहिस्थित चन्द्रनगर गाउँपालिका रतनपुर १ मा रहेको आफ्नै घरमा रायको हत्या भएको हो ।

टाउकोमा धारिलो हतियार प्रयोग गरिएका अवस्थामा रायको शव फेलापरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले बताए ।

घटनाको अनुसन्धानका लागि प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ । प्रवक्ता श्रेष्ठका अनुसार घटनास्थलको प्रकृति हेर्दा रायको हत्या भएको आशंका छ ।

रगतले लतपतिएको अवस्थामा रायको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घरमा काम गर्ने रामउजैन रायका अनुसार तीन जना व्यक्ति रायलाई भेट्न राति आएकोमा उनी सँगै सुतेका थिए । हत्यापश्चात उनीहरू फरार छन।

घरकै छेउको बाँसघारीबाट पूर्वमन्त्री रायमाथि प्रहार भएको उखु काट्ने घरेलु हतियार बरामद भएको छ । प्रहरीले लालगढबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु गरेका छ । घटनास्थलमा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक यज्ञविनोद पोख्रेलसमेतको टोली उपस्थित रहेको जनाइएको छ ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला तथा प्रदेश प्रहरी कार्यालयबाट प्रहरी अनुसन्धानमा जुटेको छ । घटनास्थलमै पुगेका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले घटनाका बारेमा अनुसन्धान भइरहेको बताए ।

राय २०५४ सालमा सूर्यबहादुर थापाको प्रधानमन्त्रीकालमा भूमिसुधार राज्यमन्त्री बनेका थिए । उनी राप्रपाको गत महाधिवेशनमा उपाध्यक्ष उम्मेदवारसमेत थिए ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमा लेख्दै घटनाको सत्यतथ्य तत्काल पत्ता लगाउन सरकारसँग आग्रह गरेका छन् ।

८० वर्षका मृतक रायको एक श्रीमती २ छोरा तथा ५ छोरी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज