काठमाडौँ जिल्ला अदालतमा एक वर्षमै २३ हजारभन्दा बढी मुद्दा फर्स्यौट 

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा गत आर्थिक वर्षमा २३ हजारभन्दा बढी मुद्दा फर्स्यौट भएको छ । जिल्ला अदालतको इतिहासमै सबैभन्दा धेरै मुद्दा फर्स्यौट भएको हो ।

गत आर्थिक वर्ष अर्थात् आर्थिक वर्ष २०८०/ ०८१ मा २३ हजार २९१ थान मुद्दा फर्स्यौट भएको हो, जुन इतिहासकै सबैभन्दा धेरै हो । 

स्रेस्तेदार रामु शर्माका अनुसार लगतमा रहेको ४९ हजार ८२७ थान मध्ये २३ हजार २९१ थान मुद्दा फर्स्यौट गरी लगतको ४६ दशमलव ७४ प्रतिशत मुद्दा फर्स्यौट भएको हो ।

काठमाडौँ जिल्ला अदालतमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको मुद्दाको सङ्ख्या २१ हजार २८५ थान रहेको थियो भने गत आर्थिक वर्षमा २८ हजार ५५८ थान नयाँ मुद्दा दर्ता भएको थियो ।

अदालतमा दुई वर्ष कटेका मुद्दा १ हजार ८ सय ६६ थान बाँकी रहेको र सो सङ्ख्या कुल लगतको ३ दशमलव ७८ प्रतिशत मात्रै रहेको छ । 

त्यसैगरी अदालतले फैसला कार्यान्वयनतर्फ पनि ५ हजार १८५ थान मध्ये २ हजार ६०७ थान मुद्दा फर्स्यौट गरी ५० दशमलव २८ प्रतिशत रहेको छ । अदालतले गत आर्थिक वर्षमा १२ हजार १९ वर्ष ८ महिना ७ दिन बराबरको कैद सजाय फर्स्यौट गर्नुपर्नेमा ७ हजार ८९१ वर्ष, ३ महिना २१ दिन बराबरको कैद सजाय फर्स्यौट भएको छ भने ९ अर्ब ५१ करोड ११ लाख ५८ हजार ६५४ रुपैयाँ बराबरको जरिवाना समेत असुल गरेको हो । 

सबैभन्दा बढी मुद्दा बैङ्किङ र सम्बन्ध विच्छेदको मुद्दा रहेको छ। 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज