काठमाडौँ – क्रिकेटर सन्दीप लामिछाने विरुद्ध गौशला २६ ले बाँकी मुद्दा नचलाउने निर्णय गरेकी छिन् ।
बलात्कारको मुद्दामा पीडित भनिएकी गौशला २६ ले क्रिकेटर लामिछाने विरुद्ध बाँकी मुद्दा अब अगाडि नबढाउन आग्रह गर्दै सरकारी वकिल कार्यालय पाटनमा निवेदन दिएकी छिन् ।
गौशला २६ ले सो मुद्दामा आफूले सुरु देखि नै धेरै तनाव सहेको र सामाजिक रूपमा अप्ठ्यारोमा परेको भन्दै बाँकी मुद्दा प्रकिया अगाडि नबढाउन सरकारी वकिल कार्यालयमा बिहीबार निवेदन दिएकी हुन् ।
क्रिकेटर लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले बलात्कार मुद्दामा प्रमाणित गरेको थियो भने उच्च अदालत पाटनले भने सफाइ पाएको थियो ।
केही दिन अगाडि आएको उच्चको पूर्णपाठ पछि सरकारी वकिल कार्यालयलाई पुनरावेदनका लागि सर्वोच्च अदालत जाने तयारीमा रहेको थियो । सो निवेदनपछि अध्ययन गरेर मात्र निर्णय गरिने सरकारी वकिल कार्यालयले जनाएको छ ।
निवेदनमा के छ ?
पीडितले लेखेको निवेदनमा आफूले यो मुद्दा सुरु भएदेखि धेरै तनाव खेपेको र सामाजिक रूपमा अप्ठ्यारोमा परेको दाबी गरेकी छन् । उनले आफूले न्यायका लागि धेरै सङ्घर्ष गरेको तर यो क्रममा धेरै तनाव र दुःख समेत झेलेकोले अब विवाद भन्दा अलि पर रहेर बस्न चाहेकोले मुद्दालाई अहिलेकै रूपमा स्वीकार गरेर बस्न चाहेको उल्लेख गरेकी छन् ।
उनले आफूलाई समाजबाट धम्की आउने क्रम अहिले पनि जारी रहेको र यसका कारण अध्ययनमा पनि असर परेको दाबी गरेकी छन् । उनले आफू अब आफ्नो अध्ययनमा मात्र केन्द्रित हुन चाहेको र मुद्दाको रूपमा धाउन नसक्ने भएकाले सर्वोच्च अदालतमा पुनरावेदन नगरी दिन उनले अनुरोध गरेकी छन् ।
उनले लामिछानेसँगको भेटदेखि अहिलेको अवस्थासम्म आइपुग्दा आफूले असह्य पीडा भोगेको र समाजबाट पनि धेरै कुरा सिकेको भन्दै अब दबाब थेग्न नसक्ने अवस्थामा पुगेकाले निवेदन दिएको र साथै आफ्नो सक्कल नागरिकता पनि पेस गरेकाले सोही अनुरूप निर्णय गरिदिन आग्रह गरेकी छन् ।
पीडितको निवेदनलाई उच्च सरकारी वकिल कार्यालयले दर्ता गरेर राखेको छ। यद्यपि उक्त मुद्दा सर्वोच्चमा पुनरावेदन गर्ने कि नगर्ने भन्नेबारे हालसम्म उच्च सरकारी वकिलको कार्यालयले कुनै निर्णय गरेको उल्लेख गरेकी छन् ।
किन सफाइ दिएको थियो उच्चले ?
काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई आंशिक दोषी ठहर गरेको थियो । तर उच्चले पूर्ण रूपमा सफाइ दिएको थियो । उच्चले सफाइ दिँदा केही आधार लिएको थियो । उच्चले पीडितको उमेर बालिग रहेको, जबरजस्ती भएको पुष्टि हुन नसकेको र पीडितकै जबरजस्तीका कारण लामिछानेले घुमाउन लगेको
आधारमा सफाइ दिएको थियो ।
आधार र कारण समेतबाट यसमा प्रतिवादी सन्दीप लामिछानेले अनुसन्धानका क्रममा र अदालतमा गरेको इन्कारी बयान, परिवर्तित नाम गौशाला २६ ले पठाएको म्यासेज, निजको शारीरिक परीक्षण प्रतिवेदन, निजको शारीरिक अवस्था, घटनास्थल मुचुल्का, घटना विवरण कागज गर्ने होटल काठमाडौँ इन होटलका सेक्युरिटी गार्ड राजन राणाले गरेको वकपत्रका साथै मिसिल संलग्न परिस्थितिजन्य प्रमाणहरूबाट पुनरावेदक प्रतिवादीले अभियोग मागदाबी बमोजिमको कसुर गरेको पुष्टि हुन आएन’, उच्च अदालतले भनेको छ ।
प्रतिवादीसँग पीडितले आर्थिक संरक्षण मागेको, प्रतिवादीले पछि सकेको सहयोग गर्छु भनेको तर कुनै सहयोग नगरी प्रतिवादी केन्द्रतर्फ गएको घटनाक्रमले रिसको आवेगमा प्रतिवादी उपर यस्तो जघन्य कसुरमा जाहेरी दिएको होला भनी यो तथ्यलाई ठाडै इन्कार गर्न सकिने अवस्था पनि देखिँदैन,’ फैसलाको पूर्णपाठमा भनिएको छ ।
लामिछानेले गाडी लिएर आउँदा स्वस्फूर्त रूपमा पीडित चढेको, नगरकोट जाँदा पीडितले प्रतिकार नगरेको र प्रतिवादीले नगरकोटबाट पीडितलाई ‘चाँडै जाऊँ, तिम्रो होस्टेल बन्द हुन्छ’ भन्दा ‘होस्टेल जुनसुकै बेला खुल्छ’ भनी प्रतिवादीलाई विश्वास दिलाएको र नगरकोटको होटल प्रतिवादी ९सन्दीप० ले ‘बुक’ गराएको तथ्य पुष्टि नभएको जस्ता आधारमा अदालतले सन्दीपलाई सफाइ दिएको हो ।
उच्च अदालतले फैसलामा जिल्ला अदालत काठमाडौंको आदेश अनुसार राखेको २० लाख रुपैयाँ धरौटी पनि सन्दीपलाई फिर्ता दिन भनेको छ । यस फैसलामा चित्त नबुझे सर्वोच्च जान पीडित पक्ष र सरकारलाई उच्च अदालतले फैसलामा भनेको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी पाँच लाख भराउने फैसला सुनाएको थियो । गौशाला २६ को कमजोर आर्थिक अवस्थाको फाइदा सन्दीपले उठाएको ठहर पनि जिल्लाले गरेको थियो ।
उक्त फैसलाविरुद्ध सन्दीप उच्च अदालत गएका थिए। गौशाला २६ ले बलात्कारको अभियोगमा सन्दीपविरुद्ध २०७९ भदौ २१ गते उजुरी दिएकी थिइन् । त्यसपछि उनलाई अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको थियो।