प्रहरीको तथ्यांकः ८ वर्षमा देशभर १६ हजार ९ सय ६० बलात्कारका घटना

काठमाडौं । पछिल्लो ८ वर्षको अवधिमा मुलुकभर १६ हजार ९ सय ६० बलात्कारका घटना भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार आव २०७३/७४ देखि आव २०८०/८१ को ८ वर्षको अवधिमा मुलुकभर यति ठूलो संख्यामा बलात्कारको घटना भएको हो ।

तथ्यांक अनुसार यो अवधिमा ५ हजार १ सय ५ जनामाथि बलात्कार प्रयास भएको पाइएको छ । । बलात्कार र बलात्कार प्रयाससँग सम्बन्धित जाहेरी प्रहरीमा परे पनि थुप्रै पीडक कारबाहीको दायराबाहिर छन् । प्रहरीमा दर्ता भएको अपराध तथ्यांक हेर्दा बलात्कारका घटनासँग सम्बन्धित तथ्यांक निकै डरलाग्दो देखिएका छन्।

प्रहरीका अनुसार आव २०७३/७४ मा १ हजार १ सय ३१ जनामाथि बलात्कार भएको र ५ सय ३६ जनामाथि बलात्कार प्रयास भएको अभिलेख छ । आव २०७४/७५ मा १ हजार ४ सय ८० माथि बलात्कार र ७ सय २७ माथि बलात्कार प्रयास भएको छ । त्यसैगरी आव २०७५/७६ मा २ हजार २ सय ९२ माथि बलात्कार र ७ सय ८६ माथि बलात्कार प्रयास भएको छ, भने आव २०७६/७७ २ हजार १८१ माथि बलात्कार र ६ सय ८७ माथि बलात्कार प्रयास भएको छ । त्यस्तै आव २०७७/७८ मा २ हजार ६ सय ९ माथि बलात्कार र ७ सय ३६ माथि बलात्कार प्रयास भएको छ । आव ०७८/७९ मा २ हजार ३ सय ८० माथि बलात्कार र ६ सय ५५ माथि बलात्कार प्रयास भएको छ । त्यसैगरी आव ०७९/८० मा २ हजार ३ सय ८७ माथि बलात्कार र ५ सय १८ माथि बलात्कार प्रयास भएको छ भने आव २०८०/८१ मा २ हजार ५ सय ७ माथि बलात्कार र ४ सय ६० माथि बलात्कार प्रयास भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ मा बलात्कारका दोषीलाई कठोर सजायको व्यवस्था गरिएको छ । कानुनमा १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपांगता भएका वा ७० वर्षभन्दा बढी उमेरका महिलालाई बलात्कार भए जन्मकैदको सजाय हुने व्यवस्था छ । १० वर्षदेखि १४ वर्षसम्मकालाई बलात्कार गरे १८ देखि २० वर्षसम्म कैद, १४ देखि १६ वर्षसम्मका किशोरीलाई बलात्कार गरे १२ देखि १४ वर्षसम्म कैद, १६ देखि १८ वर्षकालाई बलात्कार गरेमा १० देखि १२ वर्षसम्म कैद र १८ वर्षमाथिकालाई बलात्कार गरे ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । यसबाहेक वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पनि पत्नीलाई जबर्जस्ती करणी गरेमा ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । कानुनमा करणी गर्नेविरुद्ध कठोर सजाय भए पनि अपराधमा भने कमी आएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज