संसद्मा गणपुरक सङ्ख्या नपुगेपछि विधेयक कार्यसूचीबाट हटाइयो

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव गणपुरक सङ्ख्या नपुगेपछि कार्यसूचीबाट हटाइएको छ । बैठकमा सांसदहरुले धारणा राखे लगत्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जवाफ दिनुभएको थियो ।
आजको बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल चलेको थियो । छलफलमा सांसदहरुले उठाउनुभएको जिज्ञाशाको जवाफमा मन्त्री भट्टराईले संविधानको भावनाअनुरुप विधेयक अगाडि बढाइएको बताउदै समितिमा दफाबार छलफलका क्रममा विधेयकलाई परिस्कृत गर्न सकिने धारणा राख्नुभयो ।
गणपुरक सङ्ख्या नपुग भएको भनी सांसद सन्तोष परियारले नियमापत्ति जनाएपछि सभामुख देवराज घिमिरेले तीन मिनेट घण्टी बजाई गणपुरक सङ्ख्या यकिन गर्न सचिवालयलाई निर्देशन दिनुभयो । गणपुरक सङ्ख्या गणना गर्दा कुनैपनि प्रस्ताव निर्णयार्थ पेस गर्न कूल ६९ हुनुपर्नेमा ६७ जना सांसद मात्रै उपस्थित रहेकाले सो प्रस्ताव कार्यसूचीबाट हटाइएको सभामुख घिमिरेले जानकारी दिनुभयो ।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० राष्ट्रियसभामा उत्पत्ति भएको विधेयक हो ।
नेपालको संविधानको धारा ३५ मा रहेको स्वास्थ्यसम्बन्धी हकको संरक्षणको लागि आवश्यक पर्ने जनशक्ति स्वदेशमै उत्पादन गरी स्वास्थ्य सेवातर्फको पहुँच वृद्धि गर्ने उद्देश्यले यो विधेयक ल्याइएको हो ।
स्वास्थ्य विज्ञानका क्षेत्रमा गुणस्तरीय अध्ययन अध्यापनद्वारा मानवस्रोत विकास गरी सर्वसाधारण जनतालाई सहज, सुलभ र विशेषज्ञसहितको गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन तथा स्वास्थ्य विज्ञानको क्षेत्रमा अध्ययन, अनुसन्धान र नवप्रवर्तनको माध्यमले मुलुकको समृद्धिमा योगदान पु¥याउन चिकित्सा शिक्षातर्फ छुट्टै विश्वविद्यालय आवश्यक रहेको भन्दै यो विधेयक अघि बढाइएको हो ।
तत्कालिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले यो विधेयक २०८० असोजमा राष्ट्रियसभामा दर्ता गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही साउन १४ गते दिउँसो १ बजे बस्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज