माघ १ गते देखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ । सरकारले माघदेखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । साउन १ बाटै परिचयपत्र अनिवार्य चाहिने यसअघिको निर्णयलाई संशोधन गर्दै माघ १ देखि अनिवार्य गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

विभागले यो निर्णय कार्यान्वयनका लागि ६६ जिल्लाको सम्बन्धित स्थानीय तहलाई पत्राचार गरिसकेको जनाएको छ । उक्त पत्राचार अनुसार सामाजिक सुरक्षा कार्ड नवीकरणका लागि पुस मसान्तभित्र परिचयपत्रको बायोमेट्रिक रुजु गर्नुपर्ने र परिचयपत्र वा त्यसको नम्बर प्राप्त गरिसकेकाले सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण गर्दा अनिवार्य रूपमा बायोमेट्रिक रुजु गर्नुपर्नेछ ।

परिचयपत्र वा त्यसको नम्बर नभएमा सम्बन्धित व्यक्तिले परिचयपत्रका लागि फोटो खिच्ने र बायोमेट्रिक दिने काम नै नगरेको वा नम्बर हराएको स्वघोषणा गर्नुपर्छ । विभागका अनुसार स्थानीय अधिकारीलाई झुक्याएर परिचयपत्र नम्बर भएर पनि छैन भनेर दोहोरो सुविधा लिन सक्ने सम्भावना भएकाले स्वघोषणालाई अनिवार्य गरिएको हो ।

मन्त्रिपरिषद्ले गत जेठ २४ मा स्वास्थ्य बिमा, सामाजिक सुरक्षा भत्ता र निवृत्तिभरण दर्ता तथा नवीकरणका लागि साउन १ देखि अनिवार्य गर्ने निर्णय गरेको थियो । राष्ट्रिय परिचयपत्र बनाउन अत्यन्त कम समय दिएको भन्दै सरकारको चर्को आलोचना भएपछि सरकारले गत जेठ २७ मा परिचयपत्र तत्काल अनिवार्य नगर्ने निर्णय गरेको थियो ।

विभागले परिचयपत्र अनिवार्य गर्दै लैजाने कानुनी व्यवस्था भएकाले पुस मसान्तसम्मको म्याद दिएर पत्राचार गरिएको जनाएको छ ।

विभागका अनुसार १ करोड ५१ लाख ७९ हजार ५ सय १५ जनाको परिचयपत्र विवरण संकलन भइसकेको छ । ७७ जिल्लाको जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र केही स्थानीय तहबाट नियमित विवरण संकलन भइरहेको छ । ४७ लाखभन्दा बढी परिचयपत्र वितरण गरिसकेको छ । राजपत्रमा प्रकाशित सूचनाअनुसार दोस्रो चरणमा आगामी माघ १ मा ३८ जिल्लामा र तेस्रो चरणमा २०८२ साउनदेखि ११ जिल्लामा लागू गर्ने भनिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज