न्याय खोज्दै अधिवक्ता, १० महिनादेखि कानून व्यवसायीबाटै पीडित खत्री बार एशोसिएसन धाएको धायै

सुर्खेत । कानुन व्यवसायीलाई इजाजत दिने, व्यावसायिक आचरणको अनुगमन तथा छानबिन गर्ने र दोषी देखिएमा गल्ती अनुसारको सजाय दिने एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित सङ्गठित संस्था हो नेपाल कानुन व्यवसायी परिषद् । कानुन व्यवसायीहरूको हक–हित संरक्षण गरी समाजप्रति बढी जिम्मेवारीपूर्ण सेवा सञ्चालन गर्नु यस संस्थाको उद्देश्य हो ।

तर, यही संस्थाका एक पार्षद् सदस्यबाट पीडित अधिवक्ता शेरबहादुर खत्री १० महिनादेखि न्यायको पर्खाइमा छन् । कारबाही गर्ने र सजाय दिने जिम्मेवारी बोकेकै संस्थाका पदाधिकारीबाट पीडित भएका अधिवक्ता खत्री सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–३, माझगाउँका बासिन्दा हुन् ।

खत्रीले आफूलाई नेपाल कानुन व्यवसायी परिषद्का पार्षद् वीरेन्द्रनगर–१०, एकता नगर निवासी अधिवक्ता रामबाबु बिसीले ०८० असोजमा गाली–बेइज्जती र धम्की दिएको आरोप लगाएका छन् ।

अधिवक्ता बिसीले धम्की दिएपछि असुरक्षित महसुस गरेको भन्दै खत्रीले असोज २५ गते जिल्ला अदालत बार एशोसिएशन सुर्खेत, उच्च अदालत बार एशोसिएशन सुर्खेत र नेपाल बार एशोसिएशनका उपाध्यक्ष उत्तम प्रसाद आचार्यलाई लिखित उजुरी दिएका थिए ।

यद्यपि आफ्नो उजुरीबारे अहिलेसम्म कुनै सुनुवाइ नभएको उनको भनाइ छ । ‘म आफैँ अधिवक्ता, आफैँले न्याय खोज्दा पाइरहेको छैन,’ खत्रीले भने, ‘धम्की दिनेलाई कारबाही गर्ने कुरामा बेवास्ता गरियो ।’

आरोपित अधिवक्ता रामबाबु बिसीले परिषदमा आफ्नोविरुद्ध उजुरी परेको स्वीकार गरे । सुर्खेतमा भएको नेपाल बारको साधारण सभामा बारका अध्यक्ष र महासचिव आउँदा छलफलका क्रममा नेपाल कानुन व्यवसायी परिषद्का गतिविधि कर्णालीमा नभएको भनेर शेरबहादुर खत्रीले कुरा राखेको विषयमा आफूले आपत्ति जनाएको बिसीको भनाइ छ ।
खत्री सुर्खेतबाट न्याय नपाउने देखेपछि नेपाल कानुन व्यसायी परिषद्कै मुख्य कार्यालय कुपण्डोल, ललितपुरसम्म पुगे । वैशाख २७ गते कारबाही र सजायका लागि त्यहाँ उजुरी पेस गरे । तर पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको उनको गुनासो छ ।

‘न्याय दिने संस्थाकै व्यक्तिबाट अन्याय हुँदा पनि सुनुवाइ भएन,’ खत्रीले भने, ‘अब न्याय खोज्न कहाँ जाने ?

खत्रीले दिएको उजुरी अनुसार ०८० असोज १२ गते वीरेन्द्रनगरमा हुने नेपाल बार एशोसिएशनको सम्मेलन÷साधारण सभाको तयारी भइरहेको थियो । त्यसैका सम्बन्धमा नेपाल बार एशोसिएशनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, उपाध्यक्ष अधिवक्ता उत्तम प्रसाद आचार्य, महासचिव अधिवक्ता अन्जित खनाल लगायतको उपस्थितिमा वीरेन्द्रनगरस्थित शुभ होटलमा समसामयिक विषयमा छलफल कार्यक्रम भयो ।

त्यस क्रममा नेपाल बार एशोसिएशनका अध्यक्ष तथा नेपाल कानुन व्यवसायी परिषद्का उपाध्यक्ष गोपालकृष्ण घिमिरेसँग कर्णाली प्रदेशस्थित कानुन व्यवसायी परिषद्को कर्णाली प्रदेशको कार्यालय स्थापना तथा सञ्चालन, परिषद्बाट तय भएका कार्यक्रम सञ्चालन लगायतका विषयमा खत्रीले जिज्ञासा राखे ।

नेपाल कानुन व्यवसायी परिषद्का सचिव भानुदेव जोशीले उजुरी आएर दर्ता भएको तर प्रक्रिया अघि नबढेको रातोपाटीलाई बताए । ‘समितिको बैठक बसेको छैन, बसेपछि समितिमा पेस हुन्छ,’ उनले भने, ‘अहिलेसम्म समितिमा पेस भएको छैन ।’
सोही विषयलाई लिएर ०८० असोज २३ गते दिउँसो तीन बजेतिर खाजा खान होटलमा बसिरहेका बेला परिषद्का पार्षद् अधिवक्ता रामबाबु बिसीले धम्की दिनुका साथै सार्वजनिक स्थलमा गाली–बेइज्जती गरेको खत्रीले उजुरीमा उल्लेख गरेका छन् ।

खत्रीले त्यतिबेला आफूसँग अधिवक्ताहरू विद्याभुषण मानन्धर, हिमालयजंग शाही समेतका कानुन व्यवसायी खाजा खान सोही होटलमा बसेको पनि जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज