गण्डकी विश्वविद्यालयको विज्ञापनविरुद्ध उच्च अदालतमा रिट दायर

पोखरा । गण्डकी विश्वविद्यालयले डिन नियुक्तिका लागि आह्वान गरेको विज्ञापनविरुद्ध रिट दायर भएको छ । विश्वविद्यालयले डिन नियुक्तिका लागि आह्वान गरेको विज्ञापन ऐनविपरीत भएको भन्दै अधिवक्ताद्वय मनोज घर्ती मगर र विमलप्रसाद लामिछानेले उच्च अदालत पोखरामा रिट दायर गरेका हुन् ।

विश्वविद्यालयको न्यायिक परिषद्, कुलपति गणेशमान गुरुङ, कानून तथा व्यवस्थापन संकायको डीन नियुक्तिका लागि गठित समिति, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई विपक्षी बनाउँदै अधिवक्ताद्वयले रिट दायर गरेका हुन ।

विश्वविद्यालयले गठन गरेको डीन नियुक्ति सिफारिस समितिले कानुन तथा व्यवस्थापन संकायको नियुक्तिका लागि साउन १० गते सूचना प्रकाशन गरेको थियो । गण्डकी विश्वविद्यालय ऐन २०७६ को दफा २९ (१) अनुसार हरेक संकाय प्रमुख फरक–फरक हुने उल्लेख छ । यसरी एउटै व्यक्ति व्यवस्थापन र कानुन कार्यक्रमको डिन हुने गरी विज्ञापन आह्वान गर्नु विश्वविद्यालयकै ऐन विपरीत हुने उल्लेख गर्दै अधिवक्ताद्वयले रिट दायर गरेको उल्लेख गरेका छन् ।

अधिवक्ताद्वयले निवेदनको अन्तिम टुंगो नलाग्दासम्म नियुक्तिका सबै काम कारबाही र प्रक्रिया रोक्न अन्तरिम आदेश माग गरेका छन् । उक्त रिटउपर उच्च अदालतले सोमबारका लागि पेशी तोकेको छ ।

अहिले पनि विश्वविद्यालयमा सबै कार्यक्रमको एउटै डिनका रुपमा डा. कपिल अधिकारी कार्यरत छन् । उनीविरुद्ध सर्वोच्च अदालतमा परेको रिट विचाराधीन छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज