उड्डयन प्राधिकरण विधेयक संसदमै ३ वर्षदेखि अड्कियो, हवाई सुरक्षामा राज्यको छवि सुधार्ने कानून बनाउन किन ढिलाइ ?

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण विधेयक ३ वर्षदेखि संसदमा अड्किएको छ । नागरिक उडे्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक गर्ने गरी तयार भैसकेको विधेयकको खाकालाई अगाडि बढाउन सरकारले सकिरहेको छैन । जसले गर्दा हवाई सुरक्षामा राज्यको छवि सुधार्ने कानून निर्माणमा ढिलाइ भइरहेको छ ।

सरकारी ढिलाइ र उड्डयन सुरक्षामा उडेको प्र्रश्नले उड्डयन प्राधिकरणलाई टुक्र्याउने बहस फेरि तातेको छ। खासगरी हवाई उड्डयन सेवा, सञ्चालन तथा नियमनको काम एकै निकायले गर्न नसक्ने निष्कर्षसहित नागरिक उड्डयन प्राधिकरणको क्षेत्राधिकार छुट्ट्याउने मुद्दामा बहस चलेको हो ।

नेपालको आकाश असुरक्षित रहेको भन्दै युरोपेली युनियन (ईयू) ले नेपाललाई निरन्तर ११ वर्षदेखि उड्डयन सुरक्षा सूची (कालो सूची)मा राख्दै आएको छ । हवाई सेवाको सुरक्षाका लागि प्राधिकरणको जिम्मेवारीलाई नै दुई भागमा विभाजन गर्ने गरी सेवा सञ्चालन र नियमनको छुट्टाछुट्टै कार्यक्षेत्र तोकिनुपर्ने दबाब ईयूको छ ।

प्राधिकरणलाई टुक्र्याउने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीन वर्षअघि नै अघि बढाएको ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६’ र ‘हवाई सेवा प्राधिकरण विधेयक २०७६’ भने प्रतिनिधि सभामा अलपत्र परेको छ ।

२०७७ फागुन ११ गते तत्कालीन पर्यटनमन्त्री योगेशकुमार भट्टराईले क्यान टुक्र्याउने दुई वटा विधेयक राष्ट्रिय सभामा पेस गरेका थिए । नेपालको हवाई उड्डयन सेवालाई स्तरीय, सुरक्षित र विश्वसनीय बनाउन र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप विमानस्थल तथा एयर नेभिगेसन सेवा सञ्चालन गर्न नेपाल हवाई सेवा प्राधिकरणको स्थापना गर्ने र चुस्त दुरुस्त हवाई सेवा नियमनको छुट्टाछुट्टै निकाय बनाउने प्रस्ताव विधेयकमा गरिएको छ ।

२०७८ साउन १८ गते उक्त विधेयक राष्ट्रिय सभाबाट पारित भयो । तर, लगत्तै २०७८ साउन २६ गते प्रतिनिधि सभामा पेस भएको उक्त विधेयक पारित हुन सकेको छैन ।

कर्मचारीले किन रोक्दै छन कानून बनाउने काम ?
सन् २०१३ देखि ईयूले नेपाललाई निरन्तर कालो सूचीमा राखिरहेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) र ईयूले एकैसाथ नेपाललाई कालो सूचीमा राखे पनि आईकाओले सन् २०१७ मा नेपाललाई कालो सूचीबाट हटाएको थियो । तर, ईयूले भने अझै हटाएको छैन ।

नेपालले हवाई सुरक्षामा प्राधिकरणलाई नै टुक्र्याउनुपर्ने पहिलो शर्त राखेको छ । तर, प्राधिकरणले त्यसलाई अस्वीकार गर्दै आएको छ ।

प्राधिकरणको जिम्मेवारी छुट्ट्याउने गरी सरकारले दुई वटा विधेयक राष्ट्रिय सभामा पेस गरेसँगै आक्रोशित भएका प्राधिकरणका कर्मचारीहरूले लामो समय आन्दोलन गरेका थिए । यस लगत्तै प्राधिकरणको नेतृत्वमा महानिर्देशक ई।प्रदीप अधिकारी आएपछि प्राधिकरण टुक्र्याउन नदिने खेलले तीव्रता पाएको हो ।

२०७८ माघ १७ गते मन्त्रीपरिषद्को निर्णयबाट प्राधिकरणको निर्देशकमा अधिकारी नियुक्त भए । त्यस यता सरकारले पटकपटक क्यान टुक्र्याउने विधेयक अघि बढाउन खोजे पनि सफल हुन सकेको छैन ।

महानिर्देशक अधिकारीले नै विधेयक अघि बढ्न नदिएको भन्दै तत्कालीन पर्यटनमन्त्री सुदन किरातीले अधिकारीलाई स्पष्टीकरण समेत सोधेका थिए ।

नेपाल सरकारको नीति विपरीत विभिन्न कार्यक्रममा अभिव्यक्ति दिँदै हिँडेको, उक्त नीतिको प्रतिकूल सञ्चारमाध्यममा अन्तरवार्ता दिनेजस्ता कार्य गरी सरकारको नीतिको परिपालन नगर्ने र उल्टै त्यसलाई चुनौती दिने कार्यमा महानिर्देशक अधिकारी संलग्न रहेको आरोप लगाउँदै तत्कालीन मन्त्री किरातीले स्पष्टीकरण सोधेका थिए । तर, महानिर्देशक अधिकारीको सामु मन्त्रीको केही चलेन

प्रधानमन्त्रीदेखि ठ्रूला नेताहरूसँग सोझै सम्बन्ध राख्ने महानिर्देशक अधिकारीसँग टक्कर लिएका मन्त्री किराती आफैँ पछि हट्न बाध्य भए ।

प्राधिकरणकै असहयोगका कारण आफूले ठूलो पहल गर्दागर्दै पनि काम गर्न नसकेको पूर्वमन्त्री किरातीको गुनासो छ । ‘प्राधिकरणको जिम्मेवारी र कामलाई छुट्ट्याउने गरी काम गर्न नखोजिएको होइन । मैले ठुलो पहल गरेकै हो । सरकारभन्दा शक्तिशाली प्राधिकरणका डीजी भएपछि कसको के लाग्छ र ?’ किरातीले भने ।

काम र जिम्मेवारीका आधारमा हालकै प्राधिकरणको कर्मचारी संयन्त्रलाई छुट्टाछुट्टै जिम्मेवारीमा रहने गरी सेवा र नियमनमा छुट्ट्याउने प्रयत्न गर्दासमेत सफल नभएको उनले बताए । ‘प्राधिकरणलाई नछुट्ट्याई कर्मचारीहरूको जिम्मेवारीलाई मात्र छुट्ट्याएर हुन्छ कि भनेर त्यसो पनि गरियो । तर, शरीर फरकफरक भए पनि आखिर टाउको एकै भएपछि कसरी हुन्थ्यो र ?,’ किरातीले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज