काठमाडौं । सत्कार बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सहकारीका सचिव र कोषाध्यक्षसहित तीन जना पक्राउ परेका छन् ।
काठमाडौंको सामाखुसीमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीको न्यूरोड तथा चाबहिल शाखा कार्यालयका सञ्चालकले ठूलो रकम हिनामिना गरेको आरोपमा संस्थाका सचिव र कोषाध्यक्षसहित तीन जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सहकारीका सचिव गोविन्द पुरी, कोषाध्यक्ष महेश श्रेष्ठ र शाखा व्यवस्थापक ध्रुवराज कार्की रहेका छन् । बचतकर्ताहरुले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता माग गर्दा नदिएपछि पीडितहरुले उनीहरु विरुद्ध ब्यूरोमा उजुरी दिएका थिए।
प्रहरीले पिडितहरुले दिएको उजुरीका आधारमा अनुसन्धान गर्दा बचतकर्ताको रकम अपचलन तथा हिनामिना गर्ने तथा नक्कली कर्जा फाइलहरु खडा गरी सहकारीको रकम दुरुपयोग गर्ने कार्यमा संलग्न रहेको पाएपछि उनीहरुलाई पक्राउ गरेको थियो ।
सोमबार पक्राउ परेका उनीहरुमाथि आज सहकारी ऐन, २०७४ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको छ ।