अघि बढ्यो सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन प्रक्रिया 

काठमाडौँ ।  प्रतिनिधिसभा अन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मत पारित भएपछि ऐन संशोधन प्रक्रिया अघि बढेको छ । 

    लामो प्रयासपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक तेस्रो संशोधन २०८१ को प्रतिवेदन आज समितिबाट सर्वसम्मत पारित भएपछि ऐन संशोधन प्रक्रिया अघि बढेको हो ।

    उक्त विधेयकमा सहमति हुन नसकेका विषयमा राजनीतिक रुपमा गठन गरिएको तीन दलीय विधेयक सहजीकरण कार्यदलले जुटाएको सहमतिअनुसार कानुन मन्त्रालयले प्रस्ताव पेस गरेको थियो ।

    प्रस्तावमाथिको छलफलपछि समितिका सभापति विमला सुवेदीले समितिको प्रतिवेदनसहित विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो । बैठकमा उहाँले प्रतिनिधिसभाको अब बस्ने बैठकमा विधेयकको प्रतिवेदन पेस गर्ने वातावरण बनाउन सभामुखलाई पत्र  लेखेर  आग्रह गरिने बताउनुभयो ।

    संसद्को आगामी बैठक यही साउन २९ गतेका लागि तोकिएको छ । कानुुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा जुटेको सहमतिले दिगो शान्तिका लागि सकारात्मक सन्देश दिएको र पीडितलाई न्याय दिने गरी विधेयक आएको बताउनुभयो

    समितिका सदस्यहरूले विधेयक माथिको छलफलमा पीडितलाई न्याय दिने गरी आएको भन्दै यसलाई ढिला नगरी प्रतिनिधिसभाबाट पास गरेर कार्यान्वयनमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।

    सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुट्न नसकेका विषयमा टुङ्गो लगाउन गठित कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुधबार प्रतिवेदन बुझाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज