सर्वोच्चद्धारा निलम्बित सहसचिव चुडामणि शर्मा थुनामा पर्नुको कारण पेश गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले निलम्बित सहसचिव चुडामणि शर्मा कारागारमा थुनामा पर्नुको कारण पेश गर्न आदेश दिएको छ । शर्माले आफूलाई गैरकानूनी थुनामा राखिएको भन्दै गत शुक्रबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

शर्माको निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश विनोद शर्माको इजलासले शर्मालाई कारागारमा थुनामा राख्नुको कारण पेश गर्न विशेष अदालत, कारागार प्रशासन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र आफ्नै रिट तथा मुद्दा महाशाखाका नाममा आदेश जारी गरेको छ ।

विशेष अदालतले गतवर्ष शर्मालाई ९ वर्ष कैद सजाय सुनाएको थियो । विशेष अदालतले उनलाई विगो र जरिवाना गरी ६ अर्ब १५ करोड ७० लाख रुपैंया तिराउन आदेश गरेको छ । विगो र जरिवाना बापतको रकम धरौटी राख्न नसकेपछि उनी थुनामा पुगेका हुन् ।

फौजदारी कानूनमा १० वर्षसम्म कैद सजाय पाएका आरोपितहरुले थुनाबाहिर रहेरै मुद्दाको पुनरावेदन गर्न पाउछन् । तर आफूमाथि ९ वर्षमात्रै कैद तोकिएको अवस्थामा धरौटी बुझाउन नसकेकाले थुनामा बस्नुपरेको भन्दै उनले बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका हुन् ।

शर्माले निवेदनमा बाहिरै बसेर विशेष अदालतको फैसला विरुद्ध आफूले पुनरावेदन गर्न पाउनुपर्ने जिकिर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज