काठमाडौँ । ग्रीन कार्डको प्रलोभनमा पारी मौरिसस पुर्याई मानव बेचबिखन गरेको अभियोगमा झापा कमल गाउँपालिका- १ का ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पीडितले गत असार २० गते नेपाल फर्किएर उजुरी दिएपश्चात् मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलले न्यौपानेलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका गौरीघाटबाट पक्राउ गरेको हो । न्यौपानेले मासिक रु ७० हजार तलबमा ‘कुकरको काम लगाइदिने तथा काम गरेको केही समयपछि ‘ग्रीन कार्ड’ पाइने भनी प्रलोभन देखाई मौरिसस पुर्याएको पीडितको उजुरीमा उल्लेख छ ।
पीडितबाट रु दुई लाख ५० हजार लिई बिस २०८० मङ्सिर १३ गते भारतको नयाँ दिल्ली हुँदै मौरिसस पुर्याई मौरिसियन नागरिकको जिम्मा लगाई दैनिक १७/ १८ घण्टा घरको काम लगाई समयमा खान र तलबसमेत नदिई चरम श्रम तथा यौनशोषण गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
अभियुक्त न्यौपाने उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन म्याद थपको अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।