अघिल्लो शनिबार मैले धनगढी (दोकेबजार) गौरिफन्टाबाट नेपाल भारत सीमाको १० गजा क्षेत्र हुँदै सिमा स्तम्भ पार गरी अलि पर कञ्चनपुर जिल्लाको पुनर्बासमा मेरो मामाघर ( ठुलो मामा र कान्छो मामा) तर्फ बढ्दै गर्दा मलाई दुई दशक अघिको यही ठाउँमा एउटा कालरात्रि बिताएको घटना सम्झिन मन लाग्यो ।
कुरो सन् २००४ को हो । उस बेला म काठमाण्डौ स्कुल अफ ल मा प्राध्यापन गर्थेँ । त्यसैबेला सेलर्डको द एसिया फाउण्डेसन अन्तर्गतको स्वच्छ पुर्पक्ष न्यायको परियोजना आवद्ध भई उक्त परियोजना अन्तर्गत स्वच्छ पुर्पक्ष न्याय सम्बन्धी विषयमा कानून व्यवसायी र सरोकारवाला बीच अन्तरक्रिया गरी प्रशिक्षण दिनु पर्ने थियो धनगढी र महेन्द्र नगरमा । सो तालिमका लागि हामी उसबेलाका हङ्गकङ्ग राना, अधिवक्ताहरू कुमार शर्मा आचार्य (हाल बरिष्ठ अधिबक्ता ), बालकृष्ण ढकाल (हाल माननीय न्यायाधीश सर्वोच्च अदालत), लिलामणि पौडेल, टङ्क अर्याल, पत्रकार मनोज दाहाल (देश संचार) र म नेपालगञ्जको यात्राको लागि काठमाण्डौबाट उड्यौँ । याद त छैन सायद त्यो दिन धनगढीका लागि हवाईजहाज थिएन हप्तामा दुई पटकमात्र चल्थ्यो क्यारे । त्यति बेला सुदूरपश्चिममा माओवादीको सशस्त्र आन्दोलन चरम अवस्थामा पुगेको थियो । हामी उड्ने दिन गएको रात टीकापुर छेउको ब्यारेकमा माओवादीले आक्रमण गरेको भन्ने समाचार आयो । अनि उक्त आक्रमणमा सेनाहरूको राम्रै सङ्ख्यामा मृत्यु भएको र ठूलो हताहत भएको जानकारीमा आयो । नेपालगञ्ज पुग्दा थाहा भयो कोहलपुर कञ्चनपुरको बाटो बन्द रहेछ । हल्का फुल्का सवारी चलेपनि सुरक्षाको हिसाबले साह्रै खतरापूर्ण रहेको जानकारी कुमार दाइलाई आएको रहेछ ।
त्यसपछि नेपालगञ्जमा कुमार दाइसँग सल्लाह गरियो काठमाण्डौ फर्किने कि धनगढी महेन्द्रनगर जाने । सल्लाह पछि कुमार दाइले भारतीय नाका रुपैडियाको बाटो हुँदै पलिया र पलियाबाट गौरिफन्टाको नाकाबाट धनगढी पुग्न सकिने भनेपछि हामीले त्यही बाटो तय गर्यौं । म त्यो बाटोबाट सन् १९९० मा मामाघर पुगेको थिएँ । त्यसबेला कर्णालीको पुल बनेको थिएन । मलाई हामीले तय गरेको बाटो पुनः एक पटक हिँड्ने मौका मिल्यो । मलाई रहर पनि थियो त्यो बाटोको सम्झना ताजगी गर्न । भारतको बाटामा यात्रा गर्दा धेरै परिकार बस स्टप पिच्छे पाइन्छ भन्ने कुराको म राम्रो जानकार थिएँ । किनकि मैले विद्यार्थीको राम्रो समय भारतमा बिताइसकेको थिएँ । नेपालको बाटो खतरा मुक्त छैन भनेपछि कि फर्किनु कि यो बाटो रोज्नुको विकल्प हामीसँग त्यस समयमा थिएन । नेपाली बाटो प्रयोग गरी बाटोमा दोहोरो भिडन्तको सम्भावना थियो । त्यसैले त्यस्तो डर लिएर यात्रा गर्नु थिएन, कम्तिमा मलाई, संम्भवतः अरुलाई पनि । हामीले खाना खाए पछि करिब २ बजे तिर नेपाली नाका छोडियो र लागियो भारतको बाटो । तर हामीलाई गाडीको संकेत सुरु देखि शंकास्पद लागेको थियो । तथापी गाडी बिग्रियो भने बन्छ वा बनाउन सकिन्छ भन्ने कुरामा ड्राइभर ढुक्क देखिन्थ्यो । बिस्तारै बिस्तारै भारतको गाउँको बाटो अगाडी बढियो । ठाउँ ठाउँमा रोक्दै कहिँ उखुको जुस, कहिँ पोलेको मकै, कहिँ भुटेको बदाम, कहिँ पकौडा त कहिँ समोसा, अम्लेट , पानीपुरी खादै हुँइकिदै । मैले सोचे जस्तै खोजे जस्तै । पछी थाहा भयो ड्राइभरले गाडी ठाउँ ठाउँमा रोक्नुको कारण त गाडी सेलाउँदै लैजानु रहेछ । उसको समस्याबाट बेखबर हामी रमाइलो यात्रा गर्दै थियौ जिन्दगीभर नभुल्ने खाले । ड्राइभरलाई पनि गाउँको बाटोको राम्रो ज्ञान रहेछ भारतको गाउँको गल्लि गाल्ली देख्ने अवसर मिल्यो । गाडीले समय समयमा धोका त दिएकै रहेछ तर हामीले पत्तो पाएनौं । साँझ तिर दुधुवा, मिसनगढ, तिकुनिया हुँदै पुगियो पलिया । पलिया पुग्दा साँझ परी सकेको थियो अब पलियाबाट गौरिफन्टाको बाटो जंगल राष्ट्रिय निकुञ्ज काट्नु पर्ने ड्राइभरलाई पनि त्यति विश्वास थिएन की गाडीले सहज रुपमा त्योबाट पार गर्छ भनेर ।
भोलिपल्ट बिहानै प्रशिक्षण थियो धनगढीमा कुलानन्द उपाध्याय जी हाम्रो पर्खाइमा । हामीलाई जसरी पनि धनगढी पुग्नु थियो चाहे जति नै राति परोस । एकछिन पलियामा चिया नास्ता गरी लागियो गौरिफन्टाको बाटो । गाडीको अवस्था यहाँसम्म आइपुग्दा हामीलाई सजिलै धनगढी पुर्याउँछ भन्नेमा भर थिएन । साँझ झमक्क भै सकेको थियो । करिब २ घण्टा जति राष्ट्रिय निकुञ्ज पार गर्नु थियो । त्यो पार नगरी नेपाल सिमाना पुग्न सकिन्थेन अनि निकुञ्ज भित्र गाडी रोकिने वाला नि थिएन । निकुजं त्यो नि भारतको । मनमा एकातिर डर, अर्को तिर गर्मि प्रचण्ड । जंगल के छिरेका थियौं गाडीले आफ्नो रुप देखाउन सुरु गरी हाल्यो । करिब आधा घण्टाको सवार पछि गाडी रोकियो टायर पञ्चर भएछ । यहाँ सम्म आइपुग्दा छिटफुट मानिस र गाडी देखिन्थे । साढे आठ बजिसकेको थियो । गाडी बन्यो अगाडी बढियो । अब करिब १ घण्टा जतिको त्यो कालो रात अनि घनघोर जंगल गुड्दै गर्दा हामी सबको मनमा एउटा डर थियो फेरी कतै गाडी बिग्रिन्छ कि भन्ने । अरु नै कुराकानी गरेर भुल्न खोज्दा पनि मन भित्र गाडी बिग्रिने त्रास मात्रै थियो । जे सोचेको त्यही भयो, गाडी बिग्रियो समय सायद ९ः३० बजेको हुनु पर्छ । गाडी बन्द हुँदा हामी करिब गौरिफन्टाको ५ किलोमिटर छेउछाउमा थियौं होला । हामीलाई के थाहा थियो भने नेपाल भारतको सिमा ९ बजे बन्द गरिन्छ । त्यो समयमा त हामीले जंगलको बाटो काट्न समेत भ्याएका थिएनौ । न कुनै यातायातका साधन न कुनै मान्छेको आउ जाउ बस जंगलमा जनवारहरुको त्रास सबैलार्इ । गाडी ठप्प भएपछि बाहिर निस्किने कसैको आँट नै भएन । जुनसुकै बेला जनवार आउन सक्छ भन्ने लाग्यो हामीलाई । सुनसान जंगलमा करिब १५ मिनेट गाडी रोक्के पछि गाडीमा बस्न सक्ने अवस्था रहेन । गर्मिले गाडीमा बस्ने हामी सबैलाई छटपटी भो । जंगली लामखुट्टेको डसाइ अति दुख्ने, बिषालु किराले टोक्ला भन्ने डर, झ्याल बन्द गरम अति गर्मि, खोलम लामखुट्टेको टोकाई, बाहिर निस्कुम बाघ चितुवाले लैजाला भन्ने डर, हाती गैंडाले मार्ला भन्ने डर ।
अति भएपछि मरे मरिन्छ गाडी बनाउनु पर्यो भन्ने भयो । तर बत्ति छैन । हामिसँग भएको मोबाइलको बत्ति पालो पालो प्रयोग गर्ने भन्ने कुरा भो । तर बाहिर को निस्किने ? सल्लाह गरियो सबै जना बाहिर निस्केर एक ढिक्का हुने र एक एक गरी मोबाइलको बत्ति बाल्ने । आवाज ननिकाल्ने जसलाई जे नि हुन सक्छ आफ्नो ज्यान आफैं जोगाउ भने उर्दी एकार्कालाई जारी गरियो । अनि बाहिर निस्कियो । गाडीको कण्डिशन देखेर ड्राइभरलाई कुटि हालु जस्तो स्थिति थियो । तर ड्राइभरलाई कुटेर के फाइदा ? समय त ज्यान जोगाउनुको थियो । बाहिर निस्कियौं तर डरको भारीले हामीलाई थिच्यो । जंगलमा जनावरको आवाज, कहिले बाघ कराएको जस्तो लाग्ने, हातीको आवाज त निरन्तर । फेरी यो जंगलमा सर्पको बिगबिगी पहिल्यै सुनेको । सहयोग मागौं कुनै गाडी आएको होइन बाटोमा ।
अनेक त्रास र भय पार गर्दा गर्दै ड्राइभरले पञ्चर टायर टालटुल गर्यो, गाडी सेलायो कम्तिमा गुड्न मिल्ने सम्म बनायो । अनि हामी अगाडी बढ्यौं । करिब रातको ११ बजे तिर पुगियो भारत नेपाल सिमामा । सिमामा के पुगेका थियौं । भारतीय सिमा सुरक्षा बलले सिधै बन्दुक तेर्साउँदै हामी तिर दौडिएर आए । हाम्रो मुखमा राम राम राम राम ऽऽऽऽऽऽ । भारतीय सेना बन्दुक लिएर दौडेको देखे पछि आधा प्राण फुस्कियो । अझ उनीहरुले हामी नेपालि हो भन्ने बुझेपछि यती डरलाग्दो रुपमा प्रस्तुत भए कि लाग्यो आज हामीलाई यहि मार्ने भए । किनकी बोर्डर ९ बजे नै सिल भै सकेको रहेछ । बिस्तारै कुरा गर्दै गएपछि हामी कानून व्यवसायी हो भन्ने बुझे पछि अलि शान्त भए । हाम्रो सब कुरा बेलिबिस्तार लाएपछि उनीहरु अलि नरम भए । त्यहाँ पुगेपछि बुझियो गौरीफन्टाको प्रहरी बुथमा केहि दिन अघि माओबादीद्वारा आक्रमण भएको रहेछ । नेपाली सिमाका आर्मी राति नै सिमा छोडेर ब्यारेक तिर गएको बुझियो । हाम्रो नेपाल तिर कोहि छैन । हामीलाई अति डर लाग्यो अनि भारतीय आर्मीलाई अनुरोध गर्याै कि हामीलाई आजको रात यतै भारत तिर गुजार्न दिनहोला भनि । मानेन आर्मीले । सिल गरेको सिमा आफैंले खोलेर हामीलाई बाहिर जान आदेश दिए । सिमा बाट बाहिर झन् डरलाग्दो अवस्था थियो । नजिकैको धनगढी पुग्न सक्ने अवस्था थिएन । धनगढी छेउ छाउ बन्दुकका आवाजहरु प्रष्ट सुनिन्थ्यो । हामी फर्केर फेरी भारतीय आर्मी छेउ गयौं र अनुरोध गर्यौं तर उनीहरुले मानेन । हामीलाई झन् धम्कि दिएर हाम्रो सिमानाबाट बाहिर निस्की भनेर बन्दुक तेर्स्याएपछी हामी अलि अगाडी बढ्यौं । एकछिनको सल्लाह पछि हामी के निश्कर्षमा पुग्यौं भने नेपाल भित्र जाने सम्भावन छैन बरु दश गजा भित्र रात गुजारौं । न भारतीयले छुन्छ न नेपालीले । बस बचिन्छ त्यति भए पुग्यो आजको रातलाई ।
गाडी दश गजा भित्र करिब १२ बजे तिर रोकियो । खाने कुरा केहि थिएन भोकले आलस तलास । डोके बजारको एउटा झुप्रोमा सानो बत्ति बलेको देखियो । मरे मरिन्छ खाने कुरा खोज्नु पर्छ भनेर २ जना डोके बजार गएर बिस्कुट र चाउचाउ लुकी लुकी ल्याइयो । गाडीको झ्याल खोलेर सुत्न सम्भव थिएन, निदायो कि लामखुट्टे, अब रात भर गफ गरेर बसम् बिहान हुनासाथ निस्कम् भन्ने सल्लाह बमोजिम डरै डरले बिताइयो त्यो रात । थाहा थिएन कताबाट गोलि आउँछ कि जनावरले खान्छ, एकढिक्का भएर हामिले बिस्तारै उज्यालो कुर्यौं अनि बिहान उज्यालो हुना साथ लागियो धनगढी । दिनभर धनगढीमा फौजदारी न्यायमा स्वच्छ पूर्पक्षको महत्वको बारेमा प्रशिक्षण गराइयो अनि अर्को दिन महेन्द्रनगरमा सकेर दोधारा चाँदनीको लामो पुल भ्रमण गरी काठमाण्डौ पर्कियो ।
यो घटना सम्झाउन र लेख्न मलाई त्यही दश गजाले बोलायो । त्यो डरलाग्दो रात बिताएको ठाउँमा झरे, नजिकको सिमा स्तम्भमा फोटो खिचे, त्यो यात्राका हामि यात्रीहरु एक एक याद आयो । त्यसबेलाको डर अहिलेको अमुल्य सम्पति बनेको रहेछ भन्ने सोच्दै मामाघर अगाडी बढें ।
यसपालीको यात्रा सहज थियो । डर थिएन । नेपाल बार काउन्सिल सुदूरपश्चिमले आयोजना गरेको कानून व्यवसायीको आधारभूत तालिम र विशिष्टकृत तालिमका लागि मा. अनिल कुमार सिन्हा (पूर्व न्यायाधीश सर्वोच्च अदालत) र मैले यहाँ सम्मको यात्रा तय गर्यौं बिहानी अनि बेलुका ब.अ. मेघराज पोख्रेल दाई जोडिनु भयो । अनिल श्रीमान् र म कैलाली क्याम्पसका कानूनका विद्यार्थीहरुसँग कानूनी शिक्षाको बारेमा अन्तरक्रिया गर्न आमन्त्रित थियौं । बिहानको करीब साढे दुइ घण्टा छलफलमा बिद्यार्थीका धेरै जिज्ञासा सुन्यौं हामिले कानून व्यवसाय, कानूनी शिक्षा र न्याय प्रणालीका बरेमा पढेको, बुझेको, सिकेको र अभ्यास गरेको कुरा सेयर गर्यौं ।
उसबेलाको परिस्थिति अलि फरक थियो राजनीति अहिलेको जस्तै भए पनि । माओबादी द्वन्दकाल एकातिर थियो भने अर्को तिर प्रजातान्त्रिक अभ्यासका राम्रा नराम्रा दुवै कुरा हुन्थे । बिद्यमान कानुनका कमजोरीका बारेमा धेरै छलफल र सुधारका कुरा हुन्थे । ति मध्य हाम्रो सन्दर्भमा फौजदारी न्यायमा स्वच्छ पुर्पक्ष नहुने कुराको ठुलो बहस हुन्थ्यो । म भर्खर भर्खर ब्यबसायमा आएकोले ब्यबहारिक भन्दा नि सैदान्तिक कुरा धेरै बुझ्थे तर कुरो के पक्का थियो भने हाम्रोमा स्वच्छ पुर्पक्ष एउटा गम्भीर समस्या छ भन्ने थियो । त्यसैले नै हामीले यो अभियान तयार गरेका थियौं । तर अहिले करिब २ दसकको अनुभवलाइ घोत्लेर बिबेचना गर्दा उसबेला स्वच्छ पूर्पक्षको न्यायका बारेमा गरेको छलफलले अहिलेसम्म सुधार ल्याएको जस्तो लागेन मलाई । अहिले पनि पीडितहरुले न्याय खोज्न सम्बन्धित निकायमा जानु भन्दा पीडा सहनु ठीक छ भनेको सुन्छु अनि देख्छु । स्वच्छ पुर्पक्ष त केवल सिदान्त जस्तो । अझ गम्भीर कुरा त अनुसन्धानमा रहेको देखादेखी त्रुटीले झन् सताउँछ । सुदुरपश्चिमका कानुन ब्यबसायीसँग गरेको छलफल यहाँ काठमान्डूमा गरेको छलफलको निचोड भन्दा कति पनि फरक भेटिदैन । कति फौजदारी मुद्दा त जाहेरी माथि ब्यापार भएको नाङ्गो आखाले देखिन्छ । जाहेरीको तथ्यलाई वैज्ञानिक तरिकाले नबुझी सिधै दर्ता गर्ने जुन परिपाटी छ प्रहरीमा त्यो झन् डरलाग्दो छ । पश्चिमा देशमा मैले बुझें सम्म प्रहरीमा उजुरी आयो भने प्रहरीले पहिले नै घटनाको बारेमा विस्तृत अध्ययन गरिसकेपछि यो घटनाले अपराध प्रमाणित गर्छ भन्ने बलियो आधार कारण देखिएपछि उजुरीलाई बल्ल फौजदारी कारबाही तिर अगाडि बढाइन्छ । यति गर्दासम्म प्रहरी वा अनुसन्धान अधिकारीले प्रमाणमा लिन हुने र लिन नहुने वस्तुको निर्क्यौल गरिसकेको हुन्छन । त्यसरी दर्ता भएको मुद्दाले हार्ने सम्भावना कमै बोकेको हुन्छ । मुद्दा दर्ता भैसकेपछि दुबै पक्षलाई पर्ने प्रभाबको मुल्याकन बिना अनि कसुर साबित हुने नहुने बिबेचना बिना हठात् रुपमा मुद्दाको कारबाही गरिने चलनले अनुसन्धान गर्ने अभियोजन गर्ने पक्षको त के कुरा गराई भयो र न्यायपालिकाको साखमा समेत गम्भीर असर पुगेको देखिन्छ ।
हामी कानून व्यवसायीका अनुभवमा कमजोर अनुसन्धानबाट सृजित मुद्दाहरुले फौजदारी न्याय प्रतिको विश्वासमा कमी ल्याएको देखिन्छ । पीडित प्रहरीसम्म आइपुग्नु नै ठूलो कुरा हो तर बुझ्नुपर्ने पीडित आफै न्याय माग्न आएको हो या पीडितलाई प्रभावमा पारी ल्याइएको हो वा पीडितलाई प्रयोग गरएको को हो ? यदि घटना सत्य प्रमाणित भएन भने त्यसको असर के हुन्छ भन्ने कुराहरु पीडितको जानकारीमा थियो या थिएन ? प्रहरीले कतिको वैज्ञनिक अनुसन्धान गर्यो, गलत व्यहोरा सिकायो गलत बयान बाकपत्र गरायो ? घटनासँग सम्बन्धित प्रमाणको संकलन र सुरक्षण गर्यो गरेन ? समयमा अनुसन्धान गर्यो गरेन ? अभियुक्त दोषी प्रमाणित नहुँदासम्म निर्दोषिताको अनुमान हुन्छ भन्ने ख्याल गर्यो की गरेन ? भन्ने जस्ता विविध स्वच्छ पूर्पक्षका आयामहरुलाई अदालतले गम्भीर भएर हेरेको देखिँदैन । एकाध मुद्दामा बाहेक । अपराध अनुसन्धानमा घटनासँग सम्बन्धित सबै सम्बद्ध प्रमाण संकलन गर्नु अनुसन्धान अधिकारिको कर्तब्य हुन्छ भन्ने कुरा अधिकारिको समझ बाहिर भएको जस्तो देखिन्छ । प्रहरीले निर्दोषिताको अनुमानमा अनुसन्धान स्वतन्त्र पुर्बक गर्नु पर्नेमा शंकित व्यक्ति प्रति सुरुका दिन देखि नै पूर्वाग्रह राखी निजका बिरुद्द कसुर स्थापित गर्न मिल्ने गरि प्रमाणको संकलन गर्नु स्वच्छ पूर्पछ न्यायको गम्भीर उल्लंघन हो । त्यो पनि स्रोत सक्ति साधन भएको राज्यबाट । अनुसन्धान अधिकारिले सम्बद प्रमाण संकलन नगरी मुद्दा चलाउनु भनेको अपराधको अनुसन्धान निस्पक्ष र तटस्थ छैन भन्ने नै हो । हुनत फौजदारी न्यायका सिद्दान्तले अनि केहि नजिरहरुले प्रहरीले अनुसन्धान गर्दा कसुरसँग सम्बद्द सबै प्रमाण संकलन गरि प्रमाणको सबल र निर्बल पक्षको गम्भीर बिष्लेषण गरि प्रमाणबाट कसुर स्थापित हुने देखिएमा मात्र अभियोजनका लागि प्रतिबेदन पेश गर्नु भनी नबोलेका होइनन तर ब्यबहारमा सबै मुद्दामा त्यस्तो भएको देखिदैन । कतिपय मुद्दामा अभियोजन माथि नै ब्यापार भएको समेत देखिन्छ । अनुसन्धान नै प्रमाण सकलनमा उदासिन भएको टिप्पणी कति मुद्दामा माननीय न्यायाधिसहरुले गरेका समेत देखिन्छ तर सुधार देखिदैन ।
मुद्दा अदालतसम्म आउँदा पक्षले न्यायको अपेक्षा गरेका हुन्छन् तर न्यायमूर्ति सक्षम रहेन भने अनि केवल निर्णय तर्फ बिचार मात्र गरे भने न्याय मर्छ । अझ अलि गम्भीर तर चर्चित मुद्दाहरुमा न्यायाधीश डरपोक देखिन्छन् । भारतका प्रधान न्यायाधीश डी वाई चन्द्रचुढ भन्छन् गम्भीर मुद्दाहरुमा न्यायमूर्ति डराएका कारणले फौजदारी न्याय माथिको विश्वास घटेको देखिन्छ । न्यायाधीशहरु खास गरी अलि ठूलो मुद्दामा सकेसम्म हेर्न नपरोस्, हेरी हाले पनि आफू टार्गेट भइएला भनेर गलत निर्णय गर्ने प्रचलन बढेको देखिन्छ भन्छन् । न्यायमूर्तिहरुको त्यही डरलाई परास्त गर्न विशेष सुविधा, सहुलियत र सुरक्षा दिइएको हुन्छ तर त्यो सुविधा पनि लिने अनि डराउने हो भने के न्याय गर्ने ? कसरी स्वच्छ पूर्पक्ष भयो र न्याय पर्यो भन्ने विश्वास गर्ने ?
प्रहरीले गर्ने अनुसन्धान दोषी सावित गर्नलाई खोज्ने प्रमाण नभई सत्य तथ्य बुझ्ने अनुसन्धान हो तर हाम्रो सन्दर्भमा प्रहरी जुन हिसाबले पनि दोषी प्रमाणित गर्ने प्रमाण मात्र खोज्दछ । केही समय अगाडि मापसेमा एकजना कानून व्यवसायीलाई समाते छ प्रहरीले । भोलिपल्ट अदालतमा म्याद थप्न ल्याएपछि ती कानून व्यवसायीले मलाई सम्पर्क गरी दाई मलाई पुलिसले ल्याएको छ जिल्ला अदालतमा तपाई आइदिनु पर्यो भने पछि पुगें । म्याद थप्न ल्याउँदासम्म पनि पक्राउ पुर्जी थमाएको थिएन । इजलास भित्र मैले न्याय मूर्तिलाई यो कुराको जानकारी गराएपछि इजलासमा नै जबर्जस्ती हस्ताक्षर गर्न लागाए प्रहरीले । त्यो देख्ना साथ मैले त्यो घटनाको जानकारी श्रीमानलाई गराएँ । भनें श्रीमान प्रहरीको ज्याजति थुनामा मात्रै हुन्छ भन्ने सुनेको यहाँ त इजलास भित्र पनि भयो । कानून व्यवसायी माथि नै इजलास भित्र कसरी प्रहरीले जबर्जस्तीति समातेर हस्ताक्षर गराउन सक्छ ? यो त सिधै अदालत र न्यायापर्ती प्रति गम्भीर अनदेखा र अवहेलना हो भनेपछि श्रीमानले तत्काल रिहा गर्नु र कुनै कारबाही नगर्नु भन्नु भयो तर मेरो मनमा कानून व्यवसायीले त यस्तो भोग्नु पर्छ भने सामान्य नागरिकको अवस्था के होला ? जस्तो लाग्यो ।
स्वच्छ पूर्पक्षमा अभियुक्तले कानून व्यवसायीलाई सजिलोसँग भेट्न पाउनु पर्दछ, कुरा गर्न पाउनु पर्छ तर यहाँ भेटन थुनामा वा जेलमा जाँदा आफैं अभियुक्त वा कसूरदार भएको अनुभव हुन्छ कानुन ब्यबसायीलाई । भोलि कुनै अभियुक्तलाई सरकारी पक्षले दोषी प्रमाणित गर्न सकेन भने त्यसले गुमाएको सब थोकको शोधभर्ना कसले गर्ने ? अनुसन्धानको लापरवाहीको क्षतिपूर्ति कसले तिर्ने ? यी प्रश्नहरु हाम्रो सिस्टममा उत्तरित छन् जस्तो लाग्दैन । मानवीय मर्यादा र सामाजिक प्रतिष्ठा पिडित र शंकित दुबैको समान र महत्वपूर्ण हुन्छ । गलत अभियोजनले दुवै पक्षलाई गहिरो पिडा र अपमान दिन्छ । तर अदालतमात्र सजग भएर के गर्नु ? त्यति बेलासम्म दुवै पक्षले धेरै गुमाइसकेका हुन्छन । अहिले समाजमा आरोप मात्र लगाइदिए पुग्छ भन्ने सोचमा समाज त्रसित अबस्थामा बसेको एकातिर देखिन्छ भने पिडित माथि अनुचित प्रभाब र दबाबमा पारि चाहे परिवारले होस्, चाहे नजिककाले, चाहे साथी भाइले, चाहे सामाजिक संघ सस्थाले र राज्य पक्षले, मुद्दालाई पिडा दिने, सम्मान खोस्ने अनि प्रतिष्ठा धुलिल पार्ने योजनाको रुपमा लिएका धेरै घटनाहरु भेटिन्छन । यस्ता घटनाले एकातिर स्वच्छ पूर्पक्षको मान्यता र कानुन माथि गम्भीर चुनौती दिएको देखिन्छ भने अर्को तिर अदालत केहि कुनै कारणले चुक्यो भने त्यसको दुरगामी असर पर्ने र अदालत प्रति विश्वास नै उठ्ने हुन जान्छ । यो अवस्था ल्याउने भनेको नै सुरुको अनुसन्धान अभियोजनबाट सुरु हुन्छ यदि स्वच्छ पुर्पक्ष पुर्बग्राही हुन्छ भने ।
उसबेला स्वच्छ पूर्पक्षको मापदण्डको बारेमा धेरै कुरा गरियो, कानून व्यवसायी, प्रहरी, अनुसन्धान अधिकारी, न्यायमूर्तिलाई समेत सुसूचित र प्रशिक्षित गरियो । तर उस बेला जे समस्याको बारेमा प्रशिक्षण गरियो अहिले त झन् समस्या झन् जटिल भए जस्तो बुझियो । २० वर्षको अन्तरालमा महाकाली नदिमा धेरै पानी बगिसक्यो त्यसबेलाको समय छैन अहिले । हामिसँग नयाँ संविधान छ । संविधानको धारा २० (९) मा प्रत्येक व्यक्तिलाई स्वतन्त्र, निष्पक्ष र सक्षम अदालत वा न्यायीक निकाय स्वच्छ सुनुवाईको हक हुनेछ भन्ने व्यवस्था गरेको छ तर सबैलाई यो हक प्राप्त भएको देखिंदैन अनि समस्या भने झन बढ्दै गएको देखिन्छ ।
यसपाली मामाघर पुनर्वासको यात्रामा न्याय माग्दा माग्दा थाकी सकेका मानिस भेटिए भने झुट्टा मुद्दाका कारण सामान्य धरौटीको रकम समेत राख्न नसकेर विगत लामो समय देखि जेलमा बसेको घटना पनि सुनियो । अझ अदालत भित्र निवेदन, फिराद दर्ता गर्दाको समय देखि भेटी चढाउनु पर्ने र सुदूरपश्चिममा कारबाहीमा परेका न्यायाधीश मात्र खटाइने भन्ने कानून व्यवसायी बीचको बुझाइ झन् डरलाग्दो लाग्यो । यदि यसमा थोरै मात्र नी सच्चाई छ भने यसले अदालत मात्र होइन इमान्दार न्यायमूर्ति माथि गम्भीर चारित्रिक शंका उत्पन्न गराउँछ । कानूनका कुनै विद्यार्थी पनि सुरुवातीका दिन मै स्वच्छ पूर्पक्ष हुदैन, अदालतमा भ्रष्टाचार छ, न्यायाधिस राम्रा छैनन् कानुन ब्यबसायी झन् खराब भन्ने कुरामा विश्वस्त हुनु झन् डरलाग्दो कुरो हो । अदालत नै नदेखेको अवस्थाका बिद्यार्थी त यो धारणामा पुगिसकेका छन् भने व्यवसाय गर्ने कानूनकर्मीको कुरा सुन्दा अत्यसै लाग्छ । तर ति कानूनका बिद्यार्थीले त्यस्तै खराब कुराका बिरुद्द, न्यायमा समानता, स्वतन्त्रताका लागि लड्न, दलित, उत्पीडित मानिसहरुको न्यायमा पहुँच दिलाउन ठूलो सपना बोकेर कानून विषय पढेको अनि कालो कोट लाएर अदालतमा उपस्थित हुने सपना बुनेको देख्दा खुसी लाग्यो ।
मैले शनिबारको यो डायरी लेख्दै गर्दा मैले पुनर्वासका केही स्थानीयहरुसँग साक्षात्कार पनि गरें । सीमा रक्षार्थ सहादत प्राप्त गरेका सहिद गोविन्द गौतमको स्मृति स्थल र उहाँ गोली लागि ढलेको ठाउँ सम्म पुगें ।
मामा भन्दै हुनुहुन्थ्यो भान्जा यही थुम्कोमा उभिएर हेर्दा उ पर धेरै पर सीमा स्तम्भ देखिन्थ्यो अहिले त्यो सिमा स्तम्भ उ त्यहि देखिएको छ । स्तंभ सरी सरी नजिकै आइसक्यो । हामी यहिं बस्दै गर्दा भारतीय पो भइन्छ कि भन्ने डर लाग्छ भान्जा भन्नुभयो । मेरो दुबै मामाहरु ठूलो मामा ठाकुर प्रसाद बराल र कान्छो मामा खगराज बरालको घर भारतको सीमा छेउ पुनर्वासमा पर्दछ । सीमा स्तम्भ अघि सारेको सारै गर्छ त्यसको जानकारी वर्षौं देखि दिंदा पनि न सरकारलाई न राजनीतिज्ञलाई चिता लाग्यो । अन्तिममा हामी गाउँले नै ज्यानको बाजी लगाएर लड्दा मात्र सरकारको कान खुल्यो अहिले बल्ल सीमा क्षेत्रमा सशस्त्र प्रहरीलाई कटेरोमा राखेको छ तर सीमा वारिका प्रहरी, स्थानिय र महिला सुरक्षित छैनन् भन्ने नि सुनियो ।
सो सुन्दा डर लाग्यो । यो ठाउँमा कुनै संस्था आएको, न्यायका लागि लडेको अनि न्यायमा पहुँच नभएको लागि न्यायको लागि लडेको देखिएन । सीमाका निमुखा नागरिकले व्यवसाय दिन सक्दैनन् संस्था पालिदिने दुहुनो गाई बन्न नी सक्दैन । सिमा छेत्र का नेपालि हरु सीमाको लागि ज्यान दिने रहे छन् तर रास्ट्रिय स्वाभिमानका लागि नबिक्ने रहेछन् । तर आजकाल धेरै बिकेका छन अनि जताततै बिकेका मात्र देखिन्छन भेटिन्छन । अझ यहाँ कसले कसलाई बेचेको छ भन्ने समेत थाहा हुदैंन हाम्रो ब्यबसायमा न्यायमा ।
जनताले न्यायको अनुभूति कागजमा मात्र होइन व्यवहारमा गर्न सकेको देखिएको छैन । भ्रष्टाचारको कुरै नगरुँ कानून व्यवसायमा झन् बढ्दो लोभ लालच र जसरी हुन्छ छिटो कमाउ प्रवृत्तिले व्यवसायको प्रतिष्ठा बढाउन सकेको छैन । मामाघरमा स्थानीयसँग कुरा हुँदा प्रहरीले गम्भीर घटनाको जाहेरी पनि नलिने, थुनामा जबर्जस्ती कागज गर्न लाउने, प्रहरीसँग नातागोता भएको मान्छेले गाउँ हल्लाउने, कानूनले दिएको सामान्य सुबिधा र अधिकार समेत प्राप्त गर्न नसकिने, कानून व्यवसाय र अदालत प्रति नैराष्यता, पैसा नखुवाई काम हुने सक्दैन भन्ने कुरामा जनातामा विश्वस, अझ समाजमा गहिरो भेदभाव अनि बाल बिबाह, अनुसन्धानमा झारा टार्ने काम, निःशुल्क कानूनी सहायताको अभाब जस्ता कुरा सामान्य सुनिने रहेछन् ।
यो लेख अन्त्य गर्दै गर्दा म हवाई जहाजबाट काठमाडौं फर्किदैथिए । हवाइजहाजमा म सँगै अर्को सिटमा धनगढीका एकजना भद्र सज्जन यात्रा गर्दै थिए । हामी बीच चिनजान भयो । कुरा गर्दै गर्दा एक अर्काको परिचय गरियो अनि मैले म कानून व्यवसायी हुँ भनेर के भनेको थिएँ उहाँले अमिलो हाँसो हाँसेर झ्याल तिर फर्किनु भयो । त्यसपछि मलाइ हेर्नु भएन । उहाँको हेराइले मैले हाम्रो कानून व्यवसाय तिर फर्केर हेर्न बाध्य भएँ अनि म आफैं चुपचाप यात्रा पुरा गरें ।