काठमाडौँ । नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री रिचार्ड आर वर्माले नेपालको सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्न लागेकामा बधाई दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटका क्रममा उपविदेशमन्त्री रिचार्ड आर वर्माले बधाई दिनु भएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार भएको भेटमा उहाँहरुबीच दुईपक्षीय सम्बन्ध र आपसीहितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा सन् १९५० देखि अमेरिकी सरकारले गर्दै आएको निरन्तर सहयोगका लागि प्रधानमन्त्री ओलीले आभार व्यक्त गर्नुभयो । उहाँले नेपालको विकासका विविध क्षेत्रमा अमेरिकी सरकारको सहयोगको अपेक्षासमेत गर्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ भित्र अल्पविकसित मुलुकबाट स्तनोन्नति हुने क्रममा रहेको र राजनीतिक सहमतिका आधारमा नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका विषय टुङ्गो लाग्ने क्रममा रहेको उल्लेख गर्नुभयो ।
सो अवसरमा उपविदेशमन्त्री वर्माले दुई देशबीचको ७७ वर्षदेखिको दुईपक्षीय सम्बन्धको स्मरण गर्दै नेपालको विकासमा साझेदार हुन पाउनु अमेरिकाका लागि खुसीको विषय भएको बताउनुभयो ।