संसद्‌मा दर्ता भएको धितोपत्र सम्बन्धि विधेयक “ल फर्म”मा तयार भएको भन्दै उठ्यो प्रश्न

काठमाडौँ । नेपाल सरकारका तर्फबाट संघीय संसद्‌मा दर्ता भएको धितोपत्र सम्बन्धि (पहिलो संशोधन) विधेयक, २०८१ बारे रास्वपा सांसद सुमना श्रेष्ठले प्रश्न उठाएकी छिन । प्रतिनिधिसभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै सांसद श्रेष्ठले उक्त विधेयक कहाँ र कसले तयार पारेको हो भन्ने शंका उत्पन्न भएको भन्दै प्रश्न उठाएकी हुन ।

विधेयक प्रतिनिधिसभामा साउन ३२ मा दर्ता गरिएको उक्त विधेयकको पिडिएफ भर्सनको फाइलमा अथर (लेखक) मा पायोनियर ल एसोसिएट्स उल्लेख रहेको देखिन्छ । यो “ल फर्म” कर्पाेरेट लयर अनुपराज उप्रेती सहितको टिमले चलाउँदै आइरहेको छ ।

बैठकमा बोल्दै सांसद श्रेष्ठले भनिन्, हिजो हामीले धितोपत्र ऐन संशोधन गर्न बनेको विधेयकमा छलफल गर्‍यौं । सांसद, सभामुख, कर्मचारी, मिडिया सबैलाई एउटा अनुरोध गर्न चाहन्छु, संसद्को वेबसाइटमा भएको विधेयक डाउनलोड गरेर, दाहिनेतिर क्लिक गरेर त्यसको प्रपर्टीज् एकचोटी हेर्नु त्यसको अथर के छ ? एउटा अमूक ल फर्मको नाम छ त्यसमा ।

सांसद श्रेष्ठले प्रश्न गरिन, यो अर्थमन्त्रालयको माइक्रोसफ्ट वर्ड सबै ल फर्मले किनिदिएको हो ? कि त्यो विधेयक नै ल फर्ममा ड्राफ्ट गरेको हो ?

धितोपत्र सम्बन्धि संवेदनशील विधेयक एउटा ल फर्मको नाम राखेर संसद्को वेबसाइटमा दर्ता गरिएको विषयमा संसद् गम्भीर बन्न आग्रह गर्दै सांसद श्रेष्ठले भनिन, यस्तो महत्त्वपूर्ण विधेयक, नेपालको जुनसुकै विधेयक पनि नेपालको कर्मचारीले ड्राफ्ट गर्छ कि सरकारले ड्राफ्ट गर्छ कि कुनै ल फर्मले ड्राफ्ट गर्छ ? आउटसोर्स गरेको भए आउटसोर्सको डकुमेन्टेसन चाहियो । धितोपत्र संशोधनको विधेयक अमूक ल फर्ममा तयार गरेको भए यो खारेज गरेर अर्को दर्ता गर्नुपर्‍यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज