बालविवाह न्यूनीकरण गर्न कानूनी साक्षरता, कानूनले तोकेको उमेर नपुगेका १९ प्रतिशत महिला गर्भवती

म्याग्दी । प्रमुख सामाजिक समस्याका रूपमा रहेको बालविवाह र हिंसा न्यूनीकरणका लागि म्याग्दीमा किशोरी लक्षित कानुनी साक्षरता, आत्मरक्षा तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन भएको छ ।

बालविवाह, हिंसा र सामाजिक कुरीतिका विरुद्ध किशोरीहरूलाई सङ्गठित गराउने, नेतृत्व र क्षमता विकास गर्ने, प्रतिकार र कानुनी उपचारका लागि सक्षम बनाउने उद्देश्यले स्थानीय तह, सामाजिक विकास कार्यालय र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा कार्यक्रम सञ्चालन गरेका हुन् ।

सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले १८ वर्षभन्दा कम उमेरमा गर्भवती हुनेको सङ्ख्या १९ प्रतिशत रहेको म्याग्दीमा बालविवाहका कारणले सृजना भएको हिंसा, विभेद र कुरीति कम गर्न किशोरीलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरेको बताए ।
“कानुनले २० वर्षभन्दा कम उमेरमा हुने विवाहलाई मान्यता नदिए पनि १८ वर्षभन्दा कम उमेरका गर्भवतीको सङ्ख्या १९ प्रतिशत हुनुको प्रमुख कारण बालविवाह नै हो”, उनले भने, “किशोरीलाई कानुनी शिक्षा दिएर बालविवाह हुन नदिने र हिंसाबाट बचाउने उद्देश्यले प्रहरी, स्वास्थ्य, सामाजिक कार्यालय र स्थानीय तहको सहकार्यमा सचेतनामूलक कार्यक्रम सञ्चालन भएको छ ।”

तीन–तीनवटा विद्यालयका १५–१५ जनाका दरले किशोरीलाई एउटा विद्यालयमा जम्मा गरेर प्रशिक्षण दिने, किशोरी सञ्जाल बनाई सामाजिक कुरीति, बालविवाह र हिंसाका विरुद्धमा सङ्गठित तथा कानुनी उपचार खोज्न अग्रसर हुन प्रेरित गरिएको थापाले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलका अनुसार आर्थिक वर्ष २०८०,८१ मा घरेलु हिंसासम्बन्धी १७ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्ध आठवटा ठाडो उजुरी परेका थिए । सबै मिलापत्र भएको छ ।

बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले किशोरीलाई सचेत र सक्षम बनाउँदै सभ्य तथा सुरक्षित समाज बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए । “किशोरीलाई सही शिक्षा र कानुनी ज्ञान प्रदान गरी हिंसाबाट जोगिने, प्रतिकार गर्ने र हिंसा हुँदा कानुनी उपचार खोज्न सक्षम बनाउन लागिएको हो”, उनले भने । “किशोरीहरू हिंसामा नपरुन् र परेकाले कानुनी उपचार खोज्न सक्षम हुन् भन्ने कार्यक्रमको उद्देश्य हो ।”

किशोरीमार्फत समाजमा हिंसा, विभेद, कुरीति र बालविवाहका विरुद्धमा सन्देश प्रवाह हुने अपेक्षा गरिएको छ । बेनी सामुदायिक, बुद्ध एकेडेमी र माउन्ट एभरेष्ट आवासीय माविका ४५ जना किशोरीका लागि बेनी सामुदायिक माविमा बुधबारदेखि तीनदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको बेनी नगरपालिकाकी महिला विकास निरीक्षक प्रतिमादेवी शर्माले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज