धेरै बर्ष पछि प्रमाणपत्रहरूको फाइलमा अधिवक्तामा दरिनका लागि दिएको बार काउन्सिलको परीक्षाको लब्धाङ्क पत्र भेटेँ त्यो पनि दुईवटा, छैटौँ बार परीक्षा र नौ बार परीक्षाको। छैटौँ बार परीक्षाको लिखितमा उत्तीर्ण म बार काउन्सिलले अनिश्चितकालको लागि सारेको अन्तरवार्तामा समावेश हुन सकिन अनि फेरी नौं बार परीक्षा कुर्नु पर्यो । करिब ६२०० देखि ६८०० सम्मको प्रमाण पत्र हुनु पर्ने म हुत्तिएर ९५०० तिर पुगेँ । हुनु पर्ने व्यवसायिक नम्बरको ३००० नम्बर पछाडि ।
कानून व्यावसायि बन्ने सोच नहुँदा नहुँदै कानून व्यवसायमा धकेलिएको म आजसम्म आइपुग्दा व्यावसायिक पहिचानका लागि कम सङ्घर्ष गर्नु परेको छैन । मैले अघिल्लो लेखमा नै कुन घटनाले मलाई कानून व्यवसायी बन्न प्रेरित गर्यो भने कुरा लेखी सकेको छु । अहिले फर्केर हेर्दा कत्ति पनि पछुतो लाग्दैन । किनकि आखिर जे पेशा गरे पनि व्यवसायमा टिक्न सानो तिनो सङ्घर्षले नपुग्ने रहेछ । यो पेशा जति बुझ्यो उति रोमाञ्चक र उति चुनौतिपूर्ण रहेछ अनि सन्तोषजनक पनि । सन्तोष के मा मान्ने भन्ने कुरा त फेरी आफ्नो आफ्नो भै हाल्यो ।
कानून व्यवसाय गर्छु भन्ने मनमा कति पनि नहुँदा नहुदै बिएल पास गरिसकेपछिको पाइला भनेको बार परीक्षा दिनु थियो । कानून व्यावसायि ऐन जारी भएपछि नेपाल बार काउन्सिलले अधिवक्ताको रुपमा दरिनका लागि बार परीक्षा सञ्चालन सुरु गरी सकेको थियो । जब जब बार परीक्षा आउँछ तब तब नेपाल बार एसोसिएसनको भवन बाहिर कानुन का बिद्यार्थी संगठनहरुको आन्दोलन हुने गर्दथ्यो । कानूनका विद्यार्थी बिएल पास गरेपछि स्वतः लाइसेन्स पाउनु पर्ने माग राखी आन्दोलित हुने गर्दा रहेछन् । अनि अन्तिममा परीक्षाको उपाय नै थिएन, छैन । बिएल पास गरियो । अब अरु नै पेसा रोजे पनि अधिवक्ता हुनु पर्ने थियो । किनकि खल्तिमा अधिवक्ताको लाइसेन्स हुँदाको शान अर्कै हुन्छ भन्ने कुरा त मैले राम्ररी बुझेको थिएँ । कमसेकम सिंहदरबार छिर्न समस्या नहुने । बारको जाँच दिइयो र बल्ल तल्ल पास पनि भै यो । रिजल्ट आइसकेपछि बाँकी थियो अन्तर्वार्ता त्यो नि एक महिना पछाडि । उता परीक्षा नि पास हुनु, पुणे विश्वविद्यालयमा भर्ना पनि हुनु पर्ने भकोले लागियो पुणे तिर । बुबालाई छोरो वकिल बनेको हेर्ने इच्छा भएकोले भर्नाको बखत नै बुबाले कानून विभागमा गएर एक महिना पछि अधिवक्ताको अन्तर्वार्ता छ सरोजलाई काठमाण्डौमा अन्तर्वार्ता दिन जानको लागि १ हप्ता भन्दा नबढ्ने गरी बिदा दिनु भनेर विभागीय प्रमुखसँग सैद्धान्तिक सहमति लिइ सक्नु भएको रहेछ । म हतार हतार एमए अङ्ग्रेजी दोस्रो वर्षको परीक्षा आधा मै छोडेर हिंडिसकेको थिएँ पुणे। मेरा थोरै साथीहरुलाई मात्र थाहा थियो कि म अध्ययनका लागि भारत लागें भनेर । त्यसैले नि मैले भारत पढ्न गएको पार्टी दिनु नि थियो अनि अधिवक्ता हुनु नि थियो । पढाइ सुरु भैसकेपछि म कानून व्यवसायी बन्ने एकोहोरो धुनमा बगिसकेको थिएँ । अब मलाई जसरी नि कानून व्यवसायी हुनु थियो । नामको अगाडी अधिवक्ता लेख्नु थियो । कालो कोट लाउनु थियो । अनि साथी भाईको बिच शान दिनु थियो । मलाई कहिले इजलाशमा उभिएर आफ्नो तर्क राख्न पाउँ भन्ने भैसकेको थियो । म पुनेमा पढ्दै गर्दा पुणेको जिल्ला अदालत कहिले काहीँ हेर्न जाने गर्दथें । यति बेला सम्म आइपुग्दा मैले चितवन देखि कहिले काही काठमाण्डौ जिल्ला अदालत र अध्ययन कै क्रममा पुने जिल्ला अदालत पुगिसकेको थिएँ ।
अन्तर्वार्ताको दिन नाजिकिंदै गरे पछि मैले बिदा प्राप्त गरें अनि काठमाण्डौमा अन्तर्वार्ता दिन हिडें, पुने देखि ३ दिनको ट्रेन चढेर । म सँगै मेरा सहपाठी युग राज पाण्डे पनि नेपाल आए । युग राज पाण्डे जीले आफ्नो अन्तर्वाताको स्थान सारेर बुटवल राखेका रहेछन । मलाई काठमाण्डौमा पार्टी गर्न बाँकी नै थियो मेरो बिदाइको । काठमाण्डौ आइपुगें अन्तर्वार्ताको दिन चिटिक्क परेर सर्ट टाई कोट लगाएर मन भरि अधिवक्ता हुने सपना लिई लैनचौरबाट उक्सिदै नेपाल बारको भवन तिर । यती बेलासम्म मैले वकिल हुनुको प्रभाव बुझिसकेको थिएँ । बाटो भरि मलाई पुरानो घटनाक्रमहरु आँखा अगाडी नाची रहे । मैले सानै देखि देखेको कानूनका किताब, नेपाल कानून पत्रिका अनि नेपाली कागज । बुबाले ठुलो साइजको नेपाली कागजको लिफा ल्याउनु हुन्थ्यो अनि त्यो लिफलाई दुइ पटक पट्याए पछि ४ वोटा पाना बन्थ्यो एफोर साइजको । त्यसलाई राम्ररी साइजमा मिलाएर बुबाले छेउबाट पत्तीले काटेपछि सर्लक्कको पाना निस्किन्थ्यो । पत्तिले काटेको छेउबाट आधा इन्च जतिको नेपाली कागजको फित्ता निस्किन्थ्यो । प्राय जसो बुबाले प्रत्येक शनिबार बसेर नेपाली कागज काट्ने गर्नु हुन्थ्यो । जुन अहिले एफोर साइजको बन्डल जत्रो । म र मेरा बहिनिका लागि त्यो टेप जस्तो नेपाली कागज खेल्नका लागि गज्जबको सामान बन्ने गर्थ्यो । त्यो टुक्रालाई छेउ छेउ बाँधी लामो डोरी जस्तो बनाएर पुच्छर बाँधी कुद्ने गरेको अहिले जस्तो लाग्छ । बुबाले अझ त्यो काटेको टुक्रलाई बाबियोले डोरी बाँधेको जस्तो गरी लामो बनाएर फाइलमा धागोको सट्टा प्रयोग गर्ने गर्नु हुन्थ्यो । अहिले पनि घरमा पुरानो फाइल हेर्दा भेटिन्छ । बुबा वकिल हुँदा मेरो भरतपुर भरि छुट्टै शान भएको कुरा त भनिसकें । अझ मुद्दा भाको दिन बुबा चिटिक्क परेर कालो कोट लगाएर अघि अघि हिड्ने अनि मुद्दाका झगडियाले बुबाको झोला र फाइल बोकेर हिंडेको देख्दा गज्जब लाग्थ्यो । बुबाले बारम्बार कानून पेशामा रोमाञ्चता, कुशलता, क्षमता, सहनशिलता, नेतृत्व क्षमता, निडर, र अटल हुन्छ भन्नु हुन्थ्यो त्यसैले बहिनिहरु के पढ्छन् मलाई थाहा छैन तर म चाहिं वकिल बन्नु पर्छ अनि त्यसरी नै शानले समाजमा दरिनु पर्छ भनेका कुराहरु याद आइरहे । जब जब भरतपुरमा केहि गम्भीर घटनाहरु हुन्थे झगडा मिलाउनु पर्थ्यो अनि व्यापारिक पार्टीहरु मलार्इ सँगै लिएर जान्थे । सायद जानी नजानी ममा त्यो डी.एन.ए. सरिसकेको रहेछ । कानून पत्रिका सार्ने देखि नक्कल सार्ने, झगडीयालाई लिएर फाँटमा जाने गरेको देख्दा मलाई चितवनका अग्रज कानून व्यावसायिज्युहरुबाट “सानो वकिल” को दर्जा उहिबेला पाइसकेको थिएँ । बस अब मलाई युवा वकिल बन्नु थियो अनि बुबालाई भन्नु थियो ।
कानूनको अध्यायन त मैले आइ.ए. पास गरेपछि सुरु गरेको हुनाले म सँगै एस.एल.सी. पढ्ने साथीहरु बि.एल. पहिलो वर्ष सुरु गरिसकेका थिएँ । त्यसैले नि मलाई कानूनको अध्ययनमा २ वर्ष ढिलो भएको महसुस बार परीक्षा दिने बेला भै सकेको थियो किनकि मैले बार परीक्षा दिने बेलासम्म त मेरा सहपाठीहरु अधिवक्ता भएको २ वर्ष पुग्न लागि सकेको थिए । तर त्यसमा पछुतो कहिले पनि भएन किनकि मैले कानून पढ्दा वकिल भन्दा नि साथीहरुको माझ शान हुन्छ भने रै पढेको थिएँ । तर अन्तर्वार्ताको दिन मलाई वकिल बन्नु थियो बस वकिल बन्नु थियो ।
विद्यार्थी जीवनका अनेक पहेलीहरु सोच्दै भद्रकालीको दर्शन गरी सिंहदरबार हुँदै अहिलेको बाणिज्य बैंकको मुख्य कार्यालयको कुनाबाट जब नेपाल बार तिरको बाटो सोझिदै थिएँ उताबाट कालोकोट लगाएका मेरा सहपाठीहरु छाती फुट्ने गरी कुदेर आएको देखें पछाडि पुलिसले लाठो लिएर कुदेका रहेछन् । मनमा चिसो पस्यो तर यती बेला अनिकालमा बिउ जोगाउनु हुलमुलमा जिउ जोगाउनु भन्ने लाग्यो । कुदें साथीहरुसँगै पछाडि नहेरी बग्गी खाना तिर । एकछिनमा थाहा भयो उसबेलाका कानुनका विद्यार्थी संगठनहरु बार परीक्षाको बिरोधमा आन्दोलन गर्न पो नेबाए गएका रहेछन् । अन्तर्वार्ताको सुरक्षाका लागि आएका प्रहरीले लाठि चार्ज गरेसी भागदौड मच्चिएको रहेछ । मनमा चिसो लागि लागि वातावरण अलि शान्त भए पछि लागें बार तिर । बार सम्म पुग्दा भिड थिएन साथीहरु भित्तामा टाँसेको सूचना पढ्दै आफ्नो बाटो लाग्दै थिए । म अन्तर्वार्ताको लागि पुने देखि आएको मान्छे मनमा चिसो र चिन्ताले बार सम्म पुगेँ भित्तामा टाँसेको सूचा पढें, सूचनाले सुनायो “आज हुने भनिएको अधिवक्ताको परीक्षा अनिश्चितकालको लागि सारिएको छ” । रिंगटा लागे जस्तो भयो मुख सुक्यो । अरु साथीहरु त आफ्नो घर लागे, म लाग्ने ठाउँ ३ दिनको थियो । अनिश्चितकालको समय कुर्न सक्ने कै भएन । बार काउन्सिलको पारा देखेर अति दुःख लाग्यो । बुटवलमा अन्तर्वार्ता दिंदै गरेका साथी अधिवक्ता भएछन् म भने माइती घरमा बेबारिसे भएँ । अहिलेको माइतीघर मण्डला भित्र राम्रै घुमाउने बजार थियो । एक्लै त्यही गएँ चिया खाएँ, अनि अधिवक्ता भएर पुने फर्किने सपना बोकेर निस्केको म व्यावसायिक मलामी गए जस्तो लाग्यो । बुबालाई फोन गरें,अन्तर्वार्ता सर्यो बुबा अब कहिले हुन्छ थाहा छैन । म पुणे फर्कें । म सँगै परीक्षामा पास भएका साथीहरु बिकाश भट्टराई, राजन अधिकारी अधिवक्ता भए पछि अन्तर्वार्ता दिएर म अरु दुर्इ वर्ष कानून विद्यार्थी भै रहें ।
मनमा नरमाइलो मानि मानि पुना फर्किने यात्रा तय भयो । बुबाले धेरै सम्झाउनु भयो । छोरा एकपटक छुटेको अन्तर्वार्ता फेरी आइहाल्छ । अधिवक्ताको प्रमाण पत्र ठुलो कुरो होइन ठुलो त अध्ययन, ज्ञान र शिप हो । अब अर्को वर्ष आउनु अनि अन्तर्वार्ता दिनु । बार काउन्सिलले छुटेको अन्तर्वार्ता लिईहाल्छ नि अर्को वर्ष भन्नु भयो । अझ बुबाको हरिहर दाहाल अंकलसँग राम्रो व्यवसयीक सम्बन्ध भएको अनि उहाँ नेपाल बारको चुनाबमा भर्खर अध्यक्षमा निर्वाचित हुनु भएकोले म भनि हाल्छु नि तँ टेन्शन नलिई भने पछि अलि ढुक्क भएर पुगेँ पुणे । मेरा प्रिय मित्र पाण्डेजी बुटवलबाट अधिवक्ता भएर फर्केका रहेछन् । केहि दिन पश्चातापमा परें । बुटवल सरेको भए नी हुने रैछ भनेर तर पछि लाग्यो कि भगवानले नै यसपाली मेरो अन्तर्वार्ता चिताउन नलेखे पछि केहि फरक पर्दैन भन्ने ।
मेरो एलएलएमको पहिलो वर्ष सकियो । यता नेपालमा अधिवक्ताको सातौ परीक्षा अनि अन्तर्वार्ता पनि पो सकियो । मेरो एलएलएमको दोस्रो वर्ष सकियो, दोस्रो वर्ष सकिएको दोस्रो दिन नेपालमा आठौं अधिवक्ताको परीक्षा सकिसकेपछी अन्तर्वार्ता नि सकियो । अब आयो तेस्रो वर्ष । म सिधै २००१ मा काठमाण्डौ स्कूल अफ ल मा प्राध्यापनमा जोडिन पुगें, अधिवक्ताको उपाधि बिहिन बनेर । पुरै एक वर्ष कुर्न पर्यो । मलाई अन्तर्वार्तामा मात्र सहभागी हुन मिल्ने भन्ने कुरा बार काउन्सिलबाट नमिले पछि मैले बार परीक्षा तयारी गर्नु पर्यो । परीक्षा दिएँ अनि चौथो नम्बरमा अधिक्तम अंक प्राप्त गरें । अधिवक्ताको रुपमा दरिय ।
यस हिसाबले हेर्दा एसएलसी सकेको २ वर्ष पछि कानून अध्यायन गरेको म अधिवक्ता पास गरेको ३ वर्ष पछि फेरी दोस्रो पटक अधिवक्ताको परीक्षा उतिर्ण गर्नु पर्यो । ६२०० देखिको लाइनमा अधिवक्ता हुनु पर्ने म अहिले ९५०० को लाइनमा चित्त बुझाएको छु उहिबेला देखि । हुन त अन्तर्वार्तामा पनि अनुत्तीर्ण हुन सक्थें होला त्यो हिसाबले हेर्दा त चित्त दुखाउनु पर्ने लाग्दैन आफुलाई तर अझ पनि हाम्रो पालाका खुंखार विद्यार्थी नेताहरु जसको आगो बाल्ने आन्दोलनले मेरो लाइसन्स पछाडि पर्यो उहाँहरुलाई पनि अहिले जिस्काएर म लाइसेन्समा पछाडि पर्नुको कारण तँपाईहरु हो भनि जिस्काउने गर्छु । अहिले आएर थाहा भो उसबेला छुटेको अन्तर्वार्ता दिन फेरी फर्केर आउनु पर्ने रहेछ । किनकि हाम्रोमा गनिने लाइसेन्सको उमेर रहेछ । केवल लाइसेन्सको उमेर ।
लाइसेन्सको उमेरले पक्का पनि पेशा प्रतिको लामो समयलाई दर्साउला । तर के लाइसेन्सको उमेरले नै पेशाको दक्षताको ग्यारेन्टी गर्छ त भन्ने कुरा महत्वपूर्ण होला । मैले देखेको अनि बुझेको कुरा के हो भने चाहे जति नै वर्ष व्यवसायको प्रमाणपत्र लिएको किन नहोस् कानून क्षेत्रमा कति उल्लेखनिय काम गरेको छ भन्ने मापन गरेर व्यवसयीक सम्मान दिनु पर्छ र छिमेकी एवं अन्य देशहरुको अभ्यास पनि सो देखिन्छ । मुद्दाका संख्या त केवल कसले धेरै मुद्दा गरेछ भन्ने होला तर मुद्दाबाट जन्मेको बिधिशास्त्रले समाजमा कस्तो असर पार्यो पर्यो भन्ने कुरा महत्वपूर्ण हुन्छ जस्तो लाग्छ । हामीले हाम्रै अगाडी लामो समय पेशा बाहिर रहेर प्रमाणपत्रले लामो वर्षको अनुभव देखिने गरी दरिएका कानून व्यवसायी आफैंले नपत्याउने गरी वरिष्ठ अधिवक्ता समेत भएको देखेका छौं जसले धेरै अग्रज कानुन ब्यबसायी जो लामो समय व्यवसाय गरी पाएको वरिष्ठ अधिवक्ता प्राप्त गर्नु भयो उहाहरुलाई वरिष्ठ अधिवक्ताको पगरीले धेरैलाइ त्यत्ति बढी खुसी बनाएको पनि देखिएन । मेरा एकजना भारतीय मित्र जो भारतको सर्वोच्च अदालतमा कानुन व्यवसाय गर्छन् । उनले वकालत गरेको करिब ११ बर्षमा नै वरिष्ठ अधिवक्ताको रुपमा दरिएको कुरा स्मरणीय छ । उनले ३/४ वटा महत्वपूर्ण मुद्दाहरु मार्फत बिधिशास्त्र बनाउन सकेको उदाहरणीय कामले वरिष्ठ अधिवक्ताको उपाधिले सम्मान गरेको सुन्दा खुसि लाग्यो । वरिष्ठ अधिवक्ता हुन बुढो नै हुनु पर्छ २५ वर्ष नै व्यवसाय गर्नु पर्छ भनेर हाम्रै मातृ संस्था जो लागेको सुनियो मलाई लाग्यो हामी अझै परम्पराबादी सोचमा गाँजिएका छौं । भारतमा केहि वर्ष अघि युवा कानून व्यवसायीहरुले मुद्दा मार्फत गरेको उल्लेखनीय योगदानलाई कदर गरेर वरिष्ठ अधिवक्ता दिइएको उदाहरणिय घटना छन् । हुन त हाम्रोमा पनि त्यस्ता उदाहरण नभएका होइनन अनि भारतमा पनि छिटफुट नभएका होइनन जस्तै रोहिन्टन नारिमान र गोपाल सुब्रम्नियम ३७ वर्षको उमेरमा वरिष्ठ भएको देखिन्छन । भारतमा अहिले वरिष्ठ हुनका लागि न्यूनतम १० वर्ष वकालत पेशामा उल्लेखनिय योगदान गरेको युवा कानून व्यवसायीलाई दिएको वरिष्ठको उपाधिले युवाको पेशा प्रतिको लगनशिलता, सम्मान, विश्वास गरेको देखिन्छ ।
संसार धेरै अगाडी बढिसकेको छ । व्यवसायको प्रकृतिमा धेरै आयामहरु आइसकेको छ । व्यावसायिक प्रकृति परिबर्तन भैसकेको छ । यती धेरै व्यावसायिक दक्षता बोकेका युवा कानुन व्यावसायि छन् कि न्यायिक इतिहासमा धेरै योगदान ब्यबसायको थोरै उमेरमा नै गरिसकेका छन् । अहिले अमेरिका युरोप तिर आर्टिफिसियल इन्टेलिजेन्सले धेरै कानून व्यावसायिहरुलाई व्यवसायबाटै बिस्थापित गरि अन्य व्यवसायमा धेकेल्दै गरेको देखिन्छ । झगडियालाई आफ्नो झोला बोकाएर हिंड्ने गरेका हाम्रा अग्रज अहिले आफ्नो झोला आफैं बोकेको देखिन्छ । हिजो कनिष्ठ कानून व्यावसायिसँग बसेर चिया समेत खान हिच्किचाउने अग्रज अहिले मज्जाले युवा कानून व्यवसायीसँग गफ गरेको चिया खाएको देखिन्छ । व्यवसयीक प्रवृतिमा धेरै परिवर्तन हुँदै गरेको अनुभूति हुन्छ आजकाल । वरिष्ठज्युहरुले युवा कानून व्यावसायिको क्षमता र प्रतिभालाई राम्ररी बुझेको र सकेसम्म मुद्दामा मौका समेत दिने गरेको उदाहरण म आफै पनि हुँ । करिब १५ वर्ष अगाडी तत्कालिन पुनराबेदन अदालत पाटनमा मैले वअ शम्भु थापा सरको विपक्षीमा एउटा करार विवादको विषयमा बहस गरी सकेपछी शम्भु सरको पालोमा मेरो बहसको खुलेरै प्रशंसा गर्नु भएको घटना मेरो लागि जीवन भर प्रेरणाको श्रोत बनिरह्यो । अन्तमा त्यो मुद्धा मेरो पक्षले जितेको भन्दा नि शम्भु सरको प्रेरणादायी प्रसंशा सम्झिदामा अहिले पनि प्रफुल्ल हुन्छु भने मलाई व्यवसायमा निरन्तर रुपमा आजसम्म आइरहदा धेरै अग्रज बरिस्ठ अधिबक्ता ज्युहरुको प्रेरणा, माया र सद्भावले बहुतै उर्जा दिएको हुन्छ ।
अहिले युवा कानून व्यावसायि हाम्रो पुस्ता भन्दा बेजोडको क्षमता भएका अनि धेरै मिहेनेती र तारिफ योग्य अनुसन्धान गर्ने गर्छन । तर धेरैमा अलि बढी नै महत्कांक्षा रहेको देखिन्छ । व्यावसायिक सफलताको खोजिमा अलि बढी केन्द्रित भएको देखिछ । सफलता खोजेर भन्दा नि काम गर्दै गये पछि स्वतः प्राप्त हुन्छ भन्ने कुरामा म विश्वास गर्छु । सफलताको मापक र मापन के हो भन्नेमा फरक सोच देखिन्छ । धरै जसो सफलतालाई आर्थिक संवृद्धिसँग जोडेको देखिन्छ । आर्थिक संवृद्धिलाई सफलताको घोतक मान्ने केही कानून व्यावसायिहरुले एक दशकमा नै अपत्यारिलो सम्पत्ति त जोडेको होला तर निष्ठावान व्यावसायि हुन भनेर चिनिन भने सकेको जस्तो मलाई लाग्दैन । केहि दिन अगाडी कानून व्यावसायिभै छोटो अबधिमा धेरै आर्थिक सम्पन्न गरेका एकजना कानून व्यावसायिले मेरो अगाडी पक्षसँग कुरा गर्दा “म गरिबलाई हजुरले कहिले दर्शन दिने” भनेको सुन्दा बिजोग लाग्यो । मैले बुझेकै के हो भने वकिल पक्षको दास होइन । पक्षको हक अधिकारको लागि सहयोग गर्ने अफिसर अफ द कोर्ट हो । बुबा भन्नु हुन्थ्यो र अहिले मैले बुझेको कुरा पक्ष कहिले पनि आफ्नो हुँदैन अनि पक्ष र पक्षको मुद्दासँग कहिले पनि भावनात्मक सम्बन्ध राख्नु हुँदैन । पक्षले कानून व्यावसायिको सपिङ्ग गरिरहेको हुन्छ जहिले चाह्यो तेहिबेला छोड्न सक्छ । मात्र पक्षसँग व्यावसायिक सम्बन्ध राख्नु अनि कानूनको अधिनमा पक्षको हितमा मुद्दाको बिषयमा आफ्नो क्षमता देखाउनु । जित हार कानून व्यवसायीको होइन । तर आजकल मुद्दामा जित हारको गोप्य चर्चा पहिले नै चल्ने गरेको देखिन्छ । कति न्यायमूर्तिहरु इजलाश मै निष्पक्ष र स्वतन्त्र भएको देखिंदैन भने कति मुद्दामा कानून व्यावसायिहरु न्यायमूर्तिको काबिलियतमा नै भर नपरेको देखिन्छ । हामीले न्यायमूर्तिको नियुक्तमा गम्भीर प्रश्न चिन्ह हुने अवस्था सिर्जना गरिसकेका छौं । अंग्रेजीमा एउटा भनाइ छ Garbage in, Garbage out अर्थात जस्तो न्यायाधिश त्यस्तै खाले फैसाला । अहिले न्यायाधिशको नियुक्तिको चर्चा चलेको सुनिन्छ अब पनि हामीले न्यायाधिश नियुक्तिमा भविष्य सुरक्षित गर्ने सोचका व्यक्तिलाई स्थान दियौं भने आउने फैसला उस्तै हो ।
यती पढ्दा सम्म तपाईलाई लग्यो होला म वरिष्ठ हुन नसकेकोमा अनि न्यायमूर्ति हुन नसकेको कुण्ठा होला भन्ने । त्यो कत्ति पनि होइन हुँदै होइन । हुन् त संबिधानले तोकेको बरिस्ठ अधिबक्ताको योग्यतामा म दरिसकेको छु तर मलाइ लाग्दैन त्यो उपाधि अझै मेरो लागि काबिलियतको छ । म भन्दा अग्रज जसले न्यायमा धेरै योगदान दिसक्नु भएको छ । व्यवसयीक हिसाबले सफल देखिनु हुन्छ उहाहरु बरिस्ठ को उपाधि बाट टाढै हुनु हुन्छ । केहि वर्ष अगाडी नै मलाई उच्च अदालतमा जाने तपाईको इच्छा के छ भनेर कहिँबाट सोधनी हुँदा मैले के भनें भने कि मैले अहिले नै न्यायधिश हुने योग्यता राखी सकेकको छैन । मैले देखे सम्म उच्च अदालतको न्यायधिश हुन कानून र न्यायमा धेरै योगदान गरेको व्यक्ति हुन पर्छ । उच्च अदालतका न्यायमूर्तिलाई संविधानको ब्याख्या गर्ने अधिकार दिइएको छ भने कति पए मुद्दामा उच्च अदालतको फैसला अन्तिम हुन्छ । मैले पढेको र देखेको भारत, बेलायत लगायत अन्य देश मा न्यायमूर्ति लाइ हेर्ने नजर नै धेरै फरक हुन्छ । कानुन ब्यबसायी न्यायमूर्ति हुनु अघि धेरै पटक आफु न्यायमूर्ति हुन योग्य छु वा छैन भनेर आफैलाई मुल्याकन गर्छन अनि धेरै अनुरोध आएपछि मात्र स्वीकार गरेको देखिन्छ । किनकि न्यायमूर्ति हुने कुरा कम चुनौती पूर्ण छैन । यो पद आफैं यती उच्च र मर्यादित पद होकी संविधान र कानूनको हर एक पहेली बुझेको र न्याय गर्न सक्ने पत्यारिलो व्यवसायी हुनु पर्छ र मेरो अनुभब अहिले त्यहाँ सम्म पुगेको छैन मैले धेरै गर्न सिक्न बाँकी छ त्यसैले मलाई त्यो पद मैले अहिले धान्न सक्छु जस्तो लाग्दैन भन्ने खबर पठाएँ । तर कानून व्यवसायी तर्फका केहि न्यायमूर्तिहरुको नियुक्ति देखियो केहि बोलिएन चुप चाप बसियो । कानून क्षेत्रमा प्रभाब राख्ने एकजना व्यक्तित्वका उत्तराधिकारी जसले भर्खर मात्र अधिवक्तामा दरिएका थिए एकदिन भेट हुँदा सोधें भाई अब के गर्ने न्यायधिश हुने बिचार छ पछि भनेर सोधेको । सर काहाँ उच्च अदालातको न्यायाधिश हुने हो र त्यो भन्दा माथिको सोच छ मेरो भने । समय आओस पहिले भने । मैले अहिले नै बधाई दिए आफ्नो बाटो लागें ।
अन्तमा, बिश्वको बदलिंदो परिस्थितिलाई हेर्ने हो भने कानून व्यवसायी हुने उचित समय यही हो जस्तो लाग्छ । हुन त कानून बिषय पढ्नेहरुको संख्या बढ्दो देखिन्छ र बारमा बर्सेनि कानून व्यवसायीहरुको उल्लेखनिय संख्या बढेको देखिन्छ । तर थोरै मात्र पेशामा उभिन सकेको देखिन्छ । अर्को डरलाग्दो कुरा के देखिएको छ भने कानुनको अध्यापन गराउने संस्थाहरु अनियन्त्रित रुपमा खुलेका छन् । मलाई लाग्छ कानुनको अध्यायनको उपादेयता नै राम्रै नबुझेका धेरै बिद्यार्थीहरुलाई कानुन पढाइको अवसरका बारेमा भ्रम फैलैदै छ । धेरै पैसा कमाउने व्यवसाय हो, धेरै अवसर हुन्छ भनेर भर्ना गरेर पढाइ सकेका कति नबप्रबेसीहरु म दिनहु भेट्ने गर्छु । अनि ल स्कुल सकेपछि बिस्तारै ब्यबसयीकता बुझ्न सुरु गरेपछि धेरै हतोत्साहीत र अवसरको अभाबले डिप्रेसनमा जान लागेको पनि देखेको छु । किनकि नेपालमा कानुन ब्यबसायको परिधि धेरै सानो छ । कानुन ब्यबसायको करिब साठी प्रतिसत काम थोरै कानुन व्यवसाय र ल फर्मको कब्जामा छ । अझ अदालत पनि संबिधानले परिकल्पना गरे जति स्वतन्त्र नहुनु, न्यायधिस पनि सबै काबिलियतका नहुनु, भ्रस्टाचार जीबन पद्दति हुनु अनि राजनीतिक भागबन्डा भित्र व्यवसाय हुनुले के कुरा पक्का देखिन्छ भने धेरै युवा कानुन ब्यबसायी अन्यत्रै पेशा वा विदेशमा माग्रेसन हुने वाला छन् । तसर्थ कानुन को अध्ययन र व्यवसयीक आचार संहितालाइ सुरु देखि नै नजिकबाट सम्बन्धित निकायले हेरेन भने पछि गाह्रो हुने वाला छ । मैले धेरै सोचें मेरो जीवनको २०/२५ वर्षको उमेरमा म कहाँ थिए ? के गर्दै थिए ? भनेर, तर त्यसको कुनै हिसाब किताब भेट्दिन म । युवाको एउटा उर्वर समय मैले परीक्षा पास गर्ने बाहेक बेकारमा फालेको रहेछु भन्ने लाग्छ अहिले । बुबाको उपदेश त कहिले मिठो लागेन उसबेला । अहिले नमिठोसँग पछुताएर के गर्नु जानु गै सक्यो । मलाई त्यो समय अहिले भएको भए प्रत्येक दिन सर्वोच्चको एउटा फैसला पढ्थें, फुर्सदको बेला अदालतमा गई महत्पूर्ण मुद्दाको बहस सुन्थें, बारमा कानून व्यवसायीहरुको कानून र न्यायको कुराहरु, बिधिशास्त्रका कुराहरु, मानव अधिकार र कानूनी शासनका कुराहरु सुन्थें, बारका कार्यक्रम म लुकी लुकी सहभागी भएर बृहत छलफलबाट ज्ञान प्राप्त गर्थें, टर्म पेपरको बिषयमा बुझ्ने बहाना बनाएर कहलिएका कानून व्यवसायीहरुको अफिस गएर सात्क्षात्कार हुने मौका लिन्थें, कानून पत्रिकाकामा केहि न केहि लेख लेख्थें अनि कानून व्यवसायीहरु कै संगतमा व्यवसायीकता सिक्थें भन्ने लाग्छ तर त्यो अब कहा सम्भव छ र ? अहिले पनि पढ्न बाँकी रहेका सर्वोच्चका फैसलाहरु दिनमा पाँच वटा पढ्ने हो भने पनि नअस्ताउन्जेल सकिंदैन । प्रत्येक पुस्ताका कानून व्यवसायीहरुका आफ्ना आफ्नै चुनौती हुने गर्छन् । अहिले दोस्रो पुस्तामा कानून व्यवसायमा आउनेहरु उल्लेखनिय देखिन्छ भने पहिलो पुस्ताका युवा कानून व्यवसायीहरु थोरै बर्षमा नै हतोत्साही भएको भेटेको छु । किनकि उसले आफुलाई जुन लेवलमा पुर्याउँछु भन्ने सोचेको छ त्यसमा उसले आफुलाई पाउँदैन । स्वाभाविक पनि हो तर बुझ्नु पर्ने कुरा के हो भने कानून क्षेत्रमा कठिन प्रतिस्पर्धा सुरु भै सकेको छ । यो अबस्थामा युवा कानून व्यवसायीले आफ्नो सम्पूर्ण स्रोत साधन क्षमता, निष्ठा, कुसलता र आत्म विश्वासले लागि पर्नु पर्छ किनकि व्यवसयीक लगानीको प्रतिफल आउँछ आउँछ । अहिलेले आफुले आफ्नो व्यवसायीकतामा ख्याल नगर्ने हो भने फेरी पनि चाहे कानून व्यवसाय होस्, चाहे अदालत, चाहे प्रशासन, राजनीति, न्याय सेवा वा अन्य निकाय अन्तमा हुने भनेकै Garbage in Garbage out हो ।