सामाजिक सञ्जालबाट सुदूरपश्चिमवासीको बदनाम गराएको भन्दै कारबाहीका लागि प्रहरीमा उजुरी 

काठमाडौँ । अमेरिकामा ममता काफ्लेको हत्याको घटनालाई लिएर सामाजिक सञ्जालबाट सिङ्गो सुदूरपश्चिमवासीलाई नै गाली बदनाम गराएको भन्दै कानुन व्यवसायी कृष्ण महराले दुर्गा दाहाल साउदमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गरेका छन् । 

जाहेरीमा अधिवक्ता महाराले सुदूरपश्चिममा जन्मिएको कुनै व्यक्ति विशेषसँग सम्बन्धित घटनालाई लिएर सिङ्गो सुदूरपश्चिमवासी, सुदूरपश्चिमका आम युवा एवं सुदूरपश्चिमेली छोरी चेलीहरूको चरित्रमाथि तल्लो स्तरको टिप्पणी गरिनु निज दाहाल साउदको आपराधिक मानसिकताको उपज भएको उल्लेख गरेका छन् । उजुरीमा उनले भनेका छन्, अझ कुनै क्षेत्रमा जन्मिएको मान्छेमाथि भएको अनुसन्धानलाई लिएर साम्प्रदायिक रुपमा गाली गलौच र छुद्र टिप्पणी गरी विद्युतीय माध्यमबाट लाखौं जनतामाझ पुऱ्याउने कार्य विद्युतीय कारोबार ऐन २०६३ विपरीत रहेको छ ।

उनले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ ले कम्प्युटर, इन्टरनेट लगायत विद्युतीय सञ्चार माध्यमहरूमा विभिन्न जातजाति, र सम्प्रदायबीचको सुमुधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामाग्रीहरू प्रकाशन तथा प्रदर्शन गर्ने व्यक्तिलाई एक लाख रुपैयासम्म जरिवाना र पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको उल्लेख गर्दै घटनामा संलग्न लाई तुरुन्त पक्राउ गरी विद्युतीय कारोबार ऐन २०६३ बमोजिम हदैसम्मको सजाय गर्न माग गरेका छन् । 

आरोपित दुर्गा दाहाल साउदले सामाजिक सञ्जाल टिकटकमा सुदूरपश्चिमको मान्छेहरू रक्सी खाएर हिड्ने, धेरै रक्सी खाने, कसले बढी केटी ल्याउने, कसका बढी गर्लफ्रेन्ड हुने लगायतका कुरामा कम्पिटिसन गर्ने भन्दै भिडियो बनाएर पोष्ट गरेकी छन् । उनले उक्त भिडियोमा सुदूरपश्चिमका केटीहरू इन्डियाको जिपी रोडमा भेटिन्छन् भन्दै तल्लोस्तरको भाषा प्रयोग गरेकी छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज