काठमाडौँ । शुक्रबार संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि परिषद्को बैठक बोलाएका हुन । यसअघि परिषद्को बैठक बुधबारका लागि बोलाइएको थियो तर पूर्वतयारी नभएको भन्दै शुक्रबारलाई सारिएको हो ।
आजको बैठकले सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने बताइएको छ । सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ देखि अवकाशमा जाँदै छन् । संविधानको धारा २८४ (३) बमोजिम अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्ले सिफारिस गर्नुपर्ने व्यवस्था छ । यो संवैधानिक व्यवस्थाअनुसार भदौ १९ गते नै प्रधानन्यायाधीशको सिफारिस हुनुपर्ने थियो ।
न्यायपरिषद् बैठकले प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउतसहित, नहकुल सुवेदी, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोज शर्मा, कुमार चुडालको नाम परिषद्मा पठाइसकेको छ । वरिष्ठतम न्यायाधीशलाई नै प्रधानन्यायाधीश नियुक्ति गर्ने परम्परा अहिलेसम्म कायम छ । यस हिसाबले वरिष्ठतम न्यायाधीश राउत प्रधानन्यायाधीश बन्ने लगभग निश्चित छ । प्रधानन्यायाधीशमा राउत नियुक्त भएमा उनी २०८२ चैत १७ सम्म प्रधानन्यायाधीशका रुपमा रहनेछन्।