काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको संवैधानिक परिषद्को बैठक विना निर्णय सकिएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिससहित रिक्त संवैधानिक पदमा सिफारिस लगायतका संवैधानिक निकायमा नियुक्तिको कुनै निर्णय नगरी सकिएको हो ।
संवैधानिक निकायमा सिफारिस गर्नु पहिले पर्याप्त अध्ययन गर्नुपर्ने निष्कर्षपछि ठोस् निर्णय नगरी बैठक सकिएको बताइएको छ ।
आजको बैठक प्रधानन्यायाधीश सिफारिसमा केन्द्रीत भएपनि निर्णय हुन नसकेको बताइएको छ । परिषद्को अर्को बैठक ३१ भदौमा बस्ने जानकारी दिइएको छ ।
संवैधानिक परिषद्को आजको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशलाई भावी प्रधान न्यायाधीशमा नियुक्तिका लागि गरिने सिफारिस विवादरहित तुल्याउन थप अध्ययन र छलफल गर्ने निश्कर्ष निकालेको छ ।
बैठकमा सहभागी सदस्यहरूले परिषद्का निर्णयलाई विवादरहित तुल्याउन निर्णय अघि जुनसुकै विषयमा पनि पर्याप्त अध्ययन र छलफल गर्नुपर्ने सुझाव राख्नुभएको थियो ।
सर्वोच्च अदालतका वर्तमान प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको आगामी असोज १९ गते पदावधि सकिँदैछ । रिक्त हुने उक्त पदमा वरिष्ठतम् न्यायाधीशमध्येबाट परिषद्ले नाम सिफारिस गरी सङ्घीय संसद्मा संसदीय सुनुवाई समितिमा पठाउनेछ ।
परिषद्को यही भदौ ३१ गते बस्ने बैठकले यस सम्बन्धमा आवश्यक निर्णय लिने उपसभामुख इन्दिरा रानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ प्रधान न्यायाधीशमा वरिष्ठतम न्यायाधीशकै सिफारिस हुने भए पनि त्यसमा त्रुटीरहित र विवाद नआओस् भन्नका लागि थप अध्ययन गर्ने सहमति बनेको हो ।” परिषद्बाट हुने निर्णय परिपक्क तुल्याउन यस्ता अध्ययन र छलफल फलदायी हुने विश्वास व्यक्त गर्दै उहाँले यसले राम्रो अभ्यासको थालनी र परिपक्क निर्णय हुने बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता बसेको बैठकमा प्रधान न्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलको नेता र प्रतिनिधिसभाका उपसभामुख सहभागी हुनुहुन्थ्यो ।