काठमाडौँ । मितेरी बचत तथा ऋण सहकारीको बचत रकम हिनामिना गरेको उजुरीको आधारमा कांग्रेस उपसभापति धनराज गुरुङमाथि कारबाही गर्न संसदीय छानबिन समितिले निर्देशन दिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धनमा संसदीय छानबिन समितिको शुक्रबार सार्वजनिक भएको प्रतिवेदन यस्तो निर्देशन दिइएको हो ।
गुरुङले सम्बन्ध विच्छेद गरेकी ज्योति गुरुङसँगको मिलेमतोमा मितेरी बचत तथा ऋण सहकारीको बचत रकम हिनामिना गरेको उजुरी परेको थियो । समितिले समस्याग्रस्त कतिपय सहकारीमा संस्थागत नक्कली अभ्यास भएको उल्लेख गर्दै छानबिनका लागि निर्देशन दिएको हो ।
समितिले मितेरी बचत तथा ऋण सहकारीमा कार्यरत ज्योति गुरुङले पति धनराज गुरुङसँग सम्बन्ध बिच्छेद गरेर पनि एकसाथमै बस्ने गरेको उल्लेख गर्दै निजहरूको सम्बन्ध विच्छेदको मिलापत्र फैसला अनुसूची–२३ मा प्रस्तुत गरेको छ । जसमा उल्लेख गरिएको, सहकारी संस्थाका तर्फबाट निज ज्योति गुरूङ र धनराज गुरूङ समेतका उपर प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, हेटौंडामा उजुरी परी केन्द्रीय अनुसन्धान ब्युरोमा आएकोमा समितिले सो सम्बन्धमा थप अनुसन्धान गरी शिघ्र कानुनी कारबाही अगाडि बढाउन समितिको अन्तिम बैठकबाट निर्देशित समेत गरेको छ ।