धनुषा । लागु औषध तथा अभद्र व्यवहार मुद्दामा जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका ९ जना थुनुवा फरार भएका छन् । मंगलाबार बिहान प्रहरी हिरासतको भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएका हुन ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार फरार भएकाहरूमध्ये ५ जना लागु औषध मुद्दाका थुनुवा रहेका छन् भने ३ जना अभद्र व्यवहार मुद्दाका आरोपित हुन । फरार भएका थुनुवाहरूमा जनकपुर उपमहानगरपालिका वडा नम्बर २० निवासी अमितकुमार झा, धनुषा साबिक गिद्धा नगरपालिका वडा नम्बर ७ का रंजित मण्डल र रोशनकुमार मण्डल तथा सिरहा नगरपालिका वडा नम्बर १३ निवासी अभास्कर यादव रहेका छन् । त्यसैगरी औरही गाउँपालिका वडा नम्बर २ का विशाल मुखिया, जनकपुर उपमहानगरपालिका वडा नम्बर १ का सुमित मेस्तर, धनुषा नगराइन नगरपालका वडा नम्बर २ का मनिष मण्डल र जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ का बिक्की कार्की फरार रहेका छन् ।
फरार भएकाहरू मध्येबाट एक जनालाई प्रहरी पक्राउ गरिसकेको छ । प्रहरीले अहिलेसम्म सत्यम झालाई पक्राउ गरेको जानकारी दिएको छ । अन्य फरारहरूको खोजीकार्य भने जारी रहेको प्रहरीले जनाएको छ ।