काठमाडौं । सेयरको भित्री सूचनाका आधारमा कारोबार गर्नु वित्तीय अपराध भएको ठहर विशेष अदालतले गरेको छ । विशेष अदालतले रिडी हाईड्रोपावर लिमिटेडका अध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्धको सम्पत्ति शुद्धीकरणको मुद्दामा भित्री सूचनाका आधारमा सेयर कारोवार गरेर आर्थिक लाभ लिएको भन्दै उनलाई दोषी ठहर गरेको छ । अदालतले कुनैपनि कम्पनीको भित्री सूचनामा पहुँच हुनेले त्यसबाट आर्थिक लाभ हुनेगरी शेयर कारोवार गर्नुलाई सम्पत्ति शुद्धीकरणको कसुर हुने व्याख्या गरेको छ ।
कम्पनीको संवेदनशील सूचनाको आधारमा सेयरको भित्री कारोवार (इन्साइड ट्रेडिङ)को आरोपमा जिल्ला अदालतमा मुद्दा खेपिरहेका न्यौपानेविरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा विशेष अदालतमा मुद्दा चलेको थियो । त्यही मुद्दामा विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो । शेयरको भित्री कारोबार गरेको भन्दै मुद्दा खेपेका उनी इन्साइड ट्रेडिङमा दोषी ठहर हुने पहिलो व्यक्तिसमेत हुन् । उनले रिडी हाइड्रोपावर कम्पनीका बेला भित्री सूचनाका आधारमा सेयर कारोबार गरेका फेला परेको छ । सम्बन्धित कम्पनीको जिम्मेवारीमा व्यक्तिले भित्री सूचनाको दुरुपयोग गरेको भन्दै विशेष अदालतले दोषी ठहर गरेको हो ।
‘जुन सूचनाले सेयरको मूल्य तलमाथि हुन्छ, तिनलाई मूल्य संवेदनशील सूचना भनिन्छ । यस्ता सूचनामा पहुँच हुनेले आफूले वा इष्टमित्रमार्फत गर्ने सेयर कारोबार नै भित्रि कारोबार हो’ विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले गरेको फैसलाको पूर्णपाठमा भनिएको छ, ‘प्रतिवादी गुरुप्रसाद न्यौपानेले गल्ति भएको भनी बयानमै उल्लेख गरेको हुँदा भित्री कारोबार गरेको तथ्य स्थापित हुन आएको छ ।’
२०५६ सालदेखि नै रिडी हाइड्रोपावरका संस्थापक, प्रवर्द्धक र प्रमुख कार्यकारी अधिकृत रहेका न्यौपाने १९ चैत २०७७ देखि २४ साउन २०७८ सम्म उक्त संस्थाको अध्यक्ष थिए । उनी अध्यक्ष भएकै बेला ४ जेठ २०७८ मा रिडी पावरले आफूसँग भएको रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १४ लाख कित्ता सेयर बिक्री गर्ने निर्णय गरेको थियो ।
निर्णय हुनुभन्दा डेढ महिना अघि न्यौपानेले रिडीको सेयर किनेको भेटिएको थियो । त्यतिबेला उनले रिडी हाइड्रोपावरको करिब ३० हजार कित्ता शेयर २०३ देखि २१२ रुपैयाँको दरले किनेका थिए । पछि आफूसँगै भएको समेत गरी करिब ४० हजार कित्ता शेयर बेचे । उनले प्रतिशेयर ५९१ देखि ७३१ रुपैयाँका दरले बेचेको खुलेको थियो ।
धितोपत्र बोर्डले भित्री सूचना बिना खरिद बिक्रीको कामलाई संयोगमात्रै भन्न नसकिने निष्कर्षका साथ उनीमाथि मुद्दा चलाउन राय पठाएको थियो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार न्यौपानेले १९ चैत २०७७ देखि २४ साउन २०७८ सम्म रिडी हाइड्रोपावरको सेयर १४ पटक खरिद र १२ पटक बिक्री गरेका थिए ।
आफूमात्रै नभई उनले श्रीमती सुमित्रादेवी न्यौपाने, छोराहरु सञ्जीव न्यौपाने, सतिश न्यौपाने, बुहारीहरु सलिना नेपाल र सिर्जना खड्काको नाममा रहेको सेयर पनि खरिदबिक्री गरेका थिए ।
धितोपत्र सम्बन्धी कानूनमा, कुनै पब्लिक कम्पनीको सञ्चालक समितिमा रहँदा वा समिति छाडेको एक वर्षभित्र आफू वा परिवारको सदस्यले सम्बन्धित कम्पनीको सेयर कारोबार गर्न नपाउने कानुनी व्यवस्था छ । न्यौपानेले आफू अध्यक्ष रहेकै कम्पनीको शेयर किनबेच गरेका थिए ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९१ मा कुनै व्यक्तिले धितोपत्रको मूल्यमा असर पार्नसक्ने भित्री सूचना वा जानकाीका आधारमा कारोवार गरेमा वा सूचना चुहाएमा भित्री कारोवार गरेको मानिने भन्ने व्यवस्था छ । त्यसको पुष्टि भएमा बिगो बमोजिम जरिवाना, एक वर्ष कैद वा दुवै सजाय हुनसक्छ ।
न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले अवैध रुपमा सेयर कारोबार गरेको ठहरसहित धितोपत्र बोर्डले गत २४ मंसिर, २०७९ मा दुवै जनालाई कारवाही गर्ने निर्णय गरेको थियो । न्यौपानेविरुद्ध मुद्दा चलाएपछि प्रधानको हकमा अरु कारबाही भएन ।
न्यौपाने सेयरको कारोवारमा यसअघि नै दण्डित भइसकेका व्यक्ति हुन् । जनता बैंकको सञ्चालक हुँदा पत्नी सुमित्रादेवी न्यौपानेको नाममा ५२ हजार ४७० कित्ता शेयर किनेको भेटिएपछि राष्ट्र बैंकले त्यो शेयर जफत गर्न निर्देशन दिएको थियो ।
सर्वसाधारण समूहको सेयर खरिद गरेपछि उनले हकप्रद र बोनस शेयर प्राप्त गरेका थिए । राष्ट्र बैंकले बढे बढाएको ८५ हजार कित्ता शेयर जफत हुने निर्णय गरेको थियो ।
विशेष अदालतले कुनै कम्पनीको भित्रि मानिस वा जिम्मेवारी बहन गर्ने हैसियतको व्यक्तिले प्रकाशन नगरेसम्मका सूचनालाई गोप्य मानिने भन्दै त्यसको दुरुपयोग दण्डनीय मानिने व्याख्या गरेको छ । उसले फैसलामा भनेको छ, ‘जुन ब्यक्ति कम्पनीको जिम्मेवारी बहन गर्ने दायित्वमा रहेको छ त्यस्तो व्यक्तिले प्राप्त गरेको सूचनाको दुरुपयोग गरी छलकपटपूर्ण ढंगले सम्पत्ति प्राप्त गरेको छ भने त्यस्तो कार्य दुरुपयोगको सिद्धान्त अनुसार हेर्नुपर्छ ।’
सार्वजनिक नभएको भित्री सूचनामा पहुच भएको व्यक्ति र उसको नेटवर्कमा रहेकाहरुले गर्ने कारोवारलाई भित्री कारोवार मानिने भन्दै विशेष अदालतले त्यस्ता कसुरमा आर्थिक लाभ लिएको पुष्टि भएमा मात्रै पनि दण्डित गर्न पर्याप्त हुने व्याख्या गरेको हो ।
विशेष अदालतले गुरु न्यौपानेको ४ जनाको परिवार रहेको र उनीहरु आश्रित रहेको भन्दै एक वर्षमात्रै कैद फैसला सुनाएको हो । विशेषले उनलाई तीन करोड ९८ लाख रुपैंया जरिवाना हुने ठहर गर्दै उनको सम्पत्तिबाट थप एक करोड ९९ लाख रुपैंया जफत गर्न आदेश समेत दिएको छ ।