काठमाडौं । न्याउरी मुुसालाई थापेको पासोमा हात्ती मार्ने मोरङको बेलबारी नगरपालिका ३ का तेजबहादुर राई कानूनी कठघरामा पुगेका छन् ।
घरमा पालेको कुखुरा जोगाउन न्याउरी मुसा मार्न थापेका तेजबहादुर जेलमा बसेर आफूविरुद्धको मुद्दा लगिरहेका छन् । मोरङ जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । तेजबहादुरलाई उच्च अदालत विराटनगरले पनि जिल्ला अदालतकै आदेशलाई सदर गरिदिएको छ।
तेजबहादुरले घरमा पालेका कुखुरा जोगाउन साउनको २९ गते विद्युतीय पासो थापेका थिए। न्याउरी मुसा मार्न राति थापेको पासोमा हात्तीको बच्चा परेपछि छावाको तत्कालै मृत्यु भएको थियो।
भदौ १८ गते मोरङ जिल्ला अदालतका न्यायाधीश पारसमणि पोखरेलको एकल इजलासले तेजबहादुरलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। सोहीविरूद्ध तेजबहादुर उच्च अदालत पनि पुगेका थिए। तर बिहीबार उच्च अदालतका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी र न्यायाधीश केशवप्रसाद वास्तोलाको संयुक्त इजलासले जिल्लाकै आदेश सदर गर्ने फैसला गरेको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ अनुसार तेजबहादुरविरूद्ध मुद्दा दर्ता भएको थियो। उक्त दफा अनुसार वन्यजन्तु मारेको अभियोग पुष्टि भए दोषीलाई ५ वर्षदेखि १५ वर्षसम्मको कैद सजाय र ५ देखि १० लाख रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ।
‘ऐनले न्याउरीलाई थापेको पासोमा हात्ती परेको भनेर छुट नदिने भएकोले पनि उनलाई जरिवानासहितको जेल सजाय हुन सक्ने भएको छ ।
तेजबहादुरविरूद्ध वन कार्यालयले अधिकतम सजाय माग गरेर मुद्दा दर्ता गरेको छ । मोरङमा यसअघि पनि सुन्दरहरैंचा नगर क्षेत्रमा यस्तै पासोमा परेर दुइटा हात्तीले ज्यान गुमाइसकेका छन्। तेस्रो घटना हुँदा तेजबहादुर कानुनको दायरमा तानिएका छन्।