काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशविरुद्ध संघीय संसदको संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको छ । समितिले प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेयविरुद्ध १० दिनभित्र सूचना वा उजुरी दिन आह्वान गरेको हो ।
समितिको सचिवालयमा वा इमेल [email protected] मा र जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दर्ता गराउन सकिने समितिले जनाएको छ ।
सूचना अनुसार उजुरी दिने व्यक्तिले नाम, थर, ठेगाना र फोन नम्बर उल्लेख गर्नुपर्नेछ । चाहेको खण्डमा समितिले परिचय गोप्य राख्नेछ । निरौला र पाण्डेय असोज ११ गते न्याय परिषदबाट सर्वोच्चको न्यायाधीशका लागि सिफारिस भएका थिए ।