काठमाडौं । प्रहरीले नौ दिनमै अनुसन्धान सकेर मुद्दा दायर भएको मेडिकल व्यवसायी दुर्गा प्रसाई १० दिन हिरासत बसेर १ लाख धरौटीमा छुटेका छन । उनलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको हो।
मंगलबार न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले दुई वटा मुद्दामा ५०,५० हजार गरी जम्मा एक लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी मेलिस बास्कोटाले जानकारी दिए। प्रसाईंले मंगलबार नै धरौटी बुझाएका छन्।
उनीविरूद्ध विद्युतीय कारोबार ऐन, २०६३ अनुसार दुई वटा जाहेरी परेको थियो। उक्त जाहेरी परेसँगै साइबर ब्युरोले प्रसाईंलाई असोज ६ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो।
राजनीतिमा आएको घोषणा
जिल्ला अदालत काठमाडौंबाट धरौटीमा छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कार्यकर्तामाझबाट आजैबाट आफू राजनीतिमा उत्रिएको घोषणासमेत गरे ।
अदालतले छोडेलगत्तै कार्यकर्ताहरुले प्रसाईंलाई स्वागत अभिनन्दन गरेका थिए । प्रसाईंले पनि पुरानै शैलीमा भाषण गर्दै कार्यकर्तालाई उकासे । आफूलाई सिध्याउन महिला अघि सारिएको, तर अदालतले आमाको भूमिका निर्वाह गरेको उनको टिप्पणी छ ।
प्रसाईंले भने, ‘एकजना केटीलाई मुख छाड्यो, गालीगलौज गर्यो भनेर मलाई लगियो, जबकि मैले कसैको नाम लिएको थिइनँ । मलाई लगेपछि सोधियो केपी ओलीलाई किन यस्तो भनेको ? प्रचण्डलाई किन यस्तो भनेको ? शेरबहादुरलाई किन यस्तो भनेको छ ? सबै जवाफ दिइसकेपछि सम्मानित अदालतले तारेखमा छोडेर आमाको भूमिका निभाएको छ ।’
‘मेरो बोली नै हतियार हो । यो बोली सर्वहाराको हो । दुर्गा प्रसाईंको आवाज मर्यो भने तपाईंहरुको बोलिदिने कोही हुँदैन । एक थोपो रगत हुञ्जेलसम्म दुर्गा प्रसाईं बिक्दैन, झुक्दैन र हार्दैन ।’
हिरासतमा आफूलाई प्रहरीले राम्रो व्यवहार गरेको भन्दै उनले धन्यवाद दिए, तर वीर अस्पतालले जबरजस्ती डिस्चार्ज गरिदिएको गुनासो गरे ।
‘पुलिसमा मैले भनें कि हामी नङ र मासु हौं । मलाई फेमिलियर व्यवहार भयो । उहाँहरु पनि बाध्यतामा हुनुहुन्छ, तर वीर अस्पतालमा मलाई लगेको भोलिपल्टै डिस्चार्ज कि डिस्चार्ज भनेर दबाब दिइयो । जबकि म क्यान्सर सर्भाइभर हो । दुईपल्ट क्यान्सरको अपरेसन गरेको छु । अस्पताल बसेर उपचार गराउने मेरो मानव अधिकार हो । मेरो मानव अधिकार हनन भएको छ । म बयान दिन आएको बेला डिस्चार्ज गरेर निकालेर सिंहदरबार थानामा ल्याइयो’, प्रसाईंले भने ।
आफ्नो लडाइँ अहिलेका प्रधानमन्त्रीसँग रहेको उनले बताए । ‘एमाले त दुर्गा प्रसाईंसित मंसिर ७ मा हारिसक्यो । देशको प्रधानमन्त्री अहिले दुर्गा प्रसाईंसित लड्दैछ । प्रधानमन्त्रीले पनि हार्यो भने दुर्गा प्रसाईं नै प्रधानमन्त्री हो । मैले आजसम्म राजनीति गरेको थिइनँ, तर आजदेखि राजनीति पनि सुरु गरें । तपाईंहरुका लागि एक हजार पल्ट झुण्डिन तयार छु । तपाईंहरुको लागि एक हजार पल्ट मर्न तयार छु ।’