काठमाडौँ । नेपाल बारका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका सर्वोच्च अदालतका सूचना अधिकारी उप रजिस्ट्रार गोविन्द प्रसाद घिमिरेले उक्त मुद्दा फिर्ता लिने बताएका छन् ।
मुद्दा दर्ता गरेका सूचना अधिकारी घिमिरेले आफू रातभरि निदाउन नसकेको भन्दै सामाजिक सञ्जालमा लेखेका छन्, म हिजो देखी निदाउन सकेको छैन । जीवनभर प्रजातन्त्रको पछि लागियो । बा सधैँ यसकै लडाइ लड्नु भयो । बार जनताको आवाज हो लोकतन्त्रको हिमायती हो । त्यसको नेतृत्व विरुद्ध मैले अवहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको जानकारी गराउँछु ।
अदालत खुला हुँदा आफ्ना भनाई सहित औपचारिक निवेदन दिनेछु । म कसैको प्यादा बन्न चाहिन घिमिरेले भनेका छन् । घिमिरेको यो स्टाटसलाई निकै महत्वका साथ हेरिएको छ । अदालत प्रशासनको हवाला दिँदै अध्यक्ष घिमिरेमाथि अवहेलना प्रतिवेदन सूचना अधिकारी तथा उप रजिस्ट्रार गोविन्द प्रसाद घिमिरेले नै तयार गरेका थिए । यो अपहेलना मुद्दामा कार्तिक १ पेशी चढेको अवस्था छ ।
अध्यक्ष घिमिरेले गत शुक्रबार नेपालको पहिलो डिजिटल बार उद्घाटन कार्यक्रममा बोल्दै न्यायाधीश नियुक्ति गर्दा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लेनदेन गरेको भन्दै अभिव्यक्ति दिएका थिए । गत शुक्रबार सर्वोच्च अदालतमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई न्यायाधीशमा सिफारिस गरिएको थियो ।