काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उक्त विधेयक सङ्घीय संसद्का दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयसमक्ष प्रस्तुत गरेका थिए ।
राष्ट्रपतिबाट प्रमाणिकरण भएको ३१ औं दिनबाट उक्त ऐन कार्यान्वयनमा आउने छ । विधेयक प्रमाणीकरण भएसँगै सरकारी स्वामित्वमा रहेको रेडियो नेपाल तथा नेपाल टेलिभिजन लाई एकीकृत गरी एउटै छातामुनिबाट सञ्चालन हुने भएको छ ।
२०७७ असार १५ गते तात्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रियसभामा दर्ता गराएका थिए । दर्ता भएको चार वर्षपछि गत भदौ ३१ गते उक्त विधेयक संसदबाट पारित भएको थियो ।