काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित नृपध्वज निरौलाविरुद्ध संसदीय सुनुवाइ समितिमा दुईवटा उजुरी परेको छ । समितिले असोज १५ गते सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्धय निरौला र नित्यानन्द पाण्डेविरुद्ध १० दिनको समय दिएर सार्वजनिक सूचना तथा उजुरी आह्वान गरेको थियो ।
मंगलबार उजुरीका लागि निर्धारण गरेको समय सकिएको हो । यस अवधिमा निरौलाविरुद्ध इमेलमार्फत एउटा र भौत्तिक रुपमा उपस्थित भएरै अर्काे एउटा गरि दुईवटा उजुरी परेको समितिले जनाएको छ । सर्वोच्च अदालतको भवन निर्माणसँग सम्बन्धित र अर्को उनको नियुक्ति प्रक्रियासँग सम्बन्धित उजुरी रहेको बताइएको छ ।
न्याय परिषद्को असोज ११ को बैठकले निरौला र पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीशमा कार्यरत छन् भने पाण्डे उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश हुन् ।
न्यायाधीशमा सिफारिस व्यक्तिविरुद्ध सार्वजनिक सूचना तथा उजुरी दिने समय सकिएपछि सुनुवाइ समिति बैठकले उजुरीकर्तासँग छलफल गर्नेछ ।