काठमाडौं । व्यवसायी मीनबहादुर र सावित्री गुरूङले दान दिएको जग्गामा पार्टीको भवन बनाउने भन्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरिसकेको जग्गा विवादमा परेको छ ।
यो जग्गाको विषयमा व्यवसायी मीनबहादुर गुरूङले पार्टी भवन बनाउन नेकपा एमालेलाई दान दिएको जग्गा लिने निर्णय विरूद्ध परेको रिट सर्वोच्च अदालतले दर्ता गर्न आदेश दिएको छ।
अधिवक्ता ज्ञानबहादुर बस्नेतले दिएको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो। प्रशासनको निर्णय विरूद्ध बस्नेतले कात्तिक २ गते इजलासमा निवेदन दिएका थिए।
सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख भए अनुसार मंगलबार तीलप्रसाद श्रेष्ठको इजलासले सो दरपीठ बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको छ।
अधिवक्ता बस्नेतले रिटमा गुरूङ र एमाले पार्टी कार्यालयलाई विपक्षी बनाएका छन्। उनले भ्रष्टाचार र सरकारी जग्गा व्यक्तिगत बनाउने अभियोग लागेका व्यवसायीबाट पार्टीले जग्गा दान लिने विषय कानुनको मर्म विपरीत भएको जिकिर गर्दै रिट दिएको सर्वोच्चका कर्मचारीले बताए।
गत असोज २५ गते प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका वडा नम्बर २, मैत्रीनगरमा पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेका थिए।
भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरूङ र सावित्री गुरूङले एमालेलाई दान गरेको १० रोपनी १४ आना जग्गामा पार्टी भवन बन्न लागेको हो।