काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगको पदाधिकारीमा नियुक्तिका लागि १५६ जनाले आवेदन दिएका छन् । संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले मंसिर ४ गतेसम्मको मिति तोकेर आवेदन अब्हान गरेको थियो ।
नाम छनोट तथा सिफारिस समितिमा ओमप्रकाश मिश्र संयोजक, मानव अधिकार आयोगका आयुक्त मनोज दवाडी, अमेरिकाका लागि पूर्वराजदूत अर्जुनबहादुर कार्की, आदिवासी जनजाति महिला महासंघकी संस्थापक अध्यक्ष स्टेला तामाङ र पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खाती सदस्य छन् । समितिका अनुसार तोकिएको अवधिमा भौतिक रुपमा ८९, अनलाइनमार्फत् २० र संघसंस्थाको सिफारिसमार्फत् ४७ वटा आवेदन परेका छन् । अध्यक्ष पदमा ३१ जनाको आवेदन परेको छ ।
केही आवेदकले अध्यक्ष र सदस्य दुवै पदमा समेत आवेदन दिएका छन् । यी दुवै आयोग २०७९ साउनदेखि पदाधिकारीविहीन रहेका छन् । आयोगको पदाधिकारी नियुक्तिका लागि समितिले २३ कात्तिकमा सार्वजनिक सूचना जारी गरी आवेदन माग गरेको थियो । समितिले अब तोकिएको समयावधि भित्र परेका आवेदकको संक्षिप्त सूची तयार पार्ने प्रक्रिया थालनी गर्ने बताइएको छ । यसका लागि विहीबार सिफारिस समितिको बैठक बोलाइएको छ । आवेदकको कार्ययोजना समेतको मूल्यांकनका आधारमा छनोट समितिले नियुक्तिका लागि नाम सिफारिस गर्ने बताइएको छ ।