आफ्नै नामको मोबाइल नम्बरसहित बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य, माघ १ देखि नै नयाँ व्यवस्था लागू

काठमाडौं । आफ्नै नाममको मोबाइल नम्बरसहित बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ । यस्तो व्यवस्था माघ १ देखि नै लागू हुने नेपाल राष्ट्र बैंकले जारी गरेको परिपत्रमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको हो । केन्द्रीय बैंकले बिहीबार एक परिपत्र गर्दै बैंक तथा वित्तीयलाई आगामी माघ १ देखि खाता खोल्न ग्राहकको राष्ट्रिय परिचयपत्र अनिवार्य माग गर्नु पर्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० का सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी व्यवस्थामा संशोधन गर्दै वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त र पूर्वाधार विकास बैंकलाई निर्देशन जारी गर्दै राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो । बैंक तथा वित्तीय संस्थाले ग्राहकको नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणका पहुँचका आधारमा ग्राहकको पहिचान तथा सम्पुष्‍टि गर्न सक्नेछन् ।

बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकीन गरी अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने भएको हो ।

नेपाल सरकारले सामाजिक सुरक्षा लगायतका सरकारी भुक्तानी दिनुपर्ने अवस्थामा सम्बन्धित सरकारी निकायले उपलब्ध गराएको विवरणका आधारमा बैंक तथा वित्तीय संस्थाले खाता खोल्नु पर्नेछ । त्यस्तो खाताबाट रकम झिक्नु अघि यस निर्देशन बमोजिम ग्राहक पहिचान तथा सम्पुष्टि गर्नुपर्नेछ ।

ग्राहकले उपलब्ध गराएको मोबाइल नम्बरको विवरण निज ग्राहककै रहे नरहेको सुनिश्चित गर्न निहित जोखिमका आधारमा संस्थाले आवश्यक पहिचान पद्धति अवलम्बन गर्नुपर्ने व्यवस्था पनि केन्द्रीय बैंकले गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले गृह मन्त्रालयले विभिन्न माध्यमबाट उपलब्ध गराएको व्यक्ति, समूह वा सङ्गठनको सूची वा सो सँग सम्बद्ध कुनै व्यक्ति, समूह वा संगठनसँग आफ्नो कारोबार भए नभएको नियमित रुपमा यकिन हुने अद्यावधिक प्रणाली स्थापना गर्नुपर्ने व्यवस्था गरेको छ ।

सूचिकृत व्यक्ति, समूह वा संगठन वा सोसँग सम्बद्ध व्यक्तिको खाता, लकर वा अन्य कुनै रकम संस्थासँग रहेको भएमा तत्काल रोक्का राखी केन्द्रीय बैंकको सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखालाई ३ दिनभित्र जानकारी गराउनुपर्नेछ । सोको एक प्रति वित्तीय जानकारी इकाईलाई समेत उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ ।

संस्थाले उच्च पदस्थ व्यक्तिको वर्गीकरण गर्दा पदमा बहाल रहेका उच्च पदस्थ व्यक्ति, पदमा बहाल नरहेका उच्च पदस्थ व्यक्ति, छिमेकी वा नजिकका मुलुकको विदेशी उच्च पदस्थ व्यक्ति, अन्य विदेशी उच्च पदस्थ व्यक्ति, अन्तर्राष्ट्रिय संस्थाको उच्च पदस्थ व्यक्ति गरेर छुट्याउनु पर्ने व्यवस्था गरेको छ । उच्च पदस्थ व्यक्तिको अभिलेख पदबाट अवकाश भएको मितिले कम्तीमा १० वर्षसम्म कायम राख्नु पर्नेछ ।

बैंक तथा वित्तीय संस्थाले आफ्नो ग्राहक उच्च पदस्थ व्यक्तिका परिवार वा नजिकको सम्बन्ध भएका व्यक्ति भए नभएको यकिन गर्न आफूसँग ग्राहकबाट प्राप्त जानकारी संयन्त्र प्रयोग गर्नुपर्नेछ । त्यसैगरी २०८१ माघ १ सम्ममा संस्थाले सबै उच्च पदस्थ व्यक्तिको खातामा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज