विराटनगर – उच्च अदालत पाटनका न्यायाधीश नारायणप्रसाद रेग्मी सवार सरकारी नम्बर प्लेटको कार मंगलबार साँझ सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–३ स्थित मदन भण्डारी राजमार्गको नडाह खण्डमा दुर्घटनाग्रस्त भएको छ।
दुर्घटनामा ५४ वर्षीय न्यायाधीश रेग्मी र इलामको देउमाई नगरपालिका–४ निवासी न्यायाधीश रेग्मीका भिनाजु ६१ वर्षीय कृष्ण खनाल घाइते भएका छन्।
घाइते दुबै जनालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ। प्रहरीका अनुसार न्यायाधीश रेग्मीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। खनालको अवस्था गम्भीर छ ।
प्रहरीले कारको ब्रेक फेल भएको कारणले दुर्घटना भएको हुनसक्ने प्रारम्भिक आशंका व्यक्त गरेको छ। दुर्घटनाको समयमा कारमा चालकसहित पाँच जना सवार थिए।
काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको बीएबी ७१४६ नम्बरको सरकारी गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।