काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले आगजानी मुद्दामा उच्च अदालतबाट दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरीविरुद्धको रिट खारेज गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलासले रिट खारेज गरेको हो हो ।
प्रधानन्यायाधीश संलग्न संवैधानिक इजलासले कैलाली क्षेत्र नं २ बाट निर्वाचित सांसद चौधरीको योग्यता विवादसम्बन्धी रिट खारेज गरेपछि उनको सांसद पद जोगिएको छ । निर्वाचन अधिकृत वा सम्बन्धित अदालतमा जाने वैकल्पिक कानुनी उपचारको मार्ग हुँदाहुँदै सर्वोच्चमा यो विवाद ल्याएको भन्दै संवैधानिक इजलासले रिट खारेज गरिदिएको हो ।
उनले कुनै अपराध मुद्दामा दोषी ठहर भएको विवरण लुकाएर उम्मेदवार भएकोले उनको सांसद पद खारेजीको माग गर्दै वसन्त जोशीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
निर्णयमा भनिएको छ, ‘प्रत्यर्थी प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कैलाली जिल्ला, निर्वाचन क्षेत्र नं। २ बाट प्रत्यक्ष तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको देखियो । निज अरुणकुमार चौधरीको नेपालको संविधानको धारा ८७ बमोजिम प्रतिनिधि सभा सदस्यका लागि योग्यता नपुगेको वा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ बमोजिम अयोग्यता रहेको देखियो फैसलामा भनिएको छ ऐनको दफा १२ बमोजिम तोकिएको योग्यता नरहेको भन्ने नदेखिएको स्थितिमा उम्मेदवारी दर्ता गर्दा पेस गरेको मनोनयन पत्रमा जानी–जानी झुटो विवरण पेस गरेको भए सो विषयको उजुरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३ बमोजिम निर्वाचन अधिकृतसमक्ष वा ऐ. ऐनको दफा ४३ बमोजिम सम्बन्धित अदालतमा दिन सक्ने वैकल्पिक कानुनी उपचारको मार्ग अवलम्बन नभएको परिप्रेक्ष्यमा निज अरुणकुमार चौधरीलाई प्रतिनिधि सभा सदस्य पदमा कायम रहने योग्यता नरहेको भन्न मिल्ने नदेखिएको हुँदा रिट निवेदन खारेज हुने ठहर्छ ।’