कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्ने निर्णय पुनरावलोकन गर्ने सर्वोच्चको आदेश

काठमाडौँ ।भ्रष्टाचारको मुद्दामा विशेष अदालतबाट मतियार ठहर भएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्ने आफ्नो फैसलालाई पुनरावलोकन गर्न सर्वोच्च अदालतले आदेश गरेको छ । सर्वोच्च अदालतको पूर्ण इजलासले विहिबार सांसद गुरुङको निलम्बन फुकुवा गर्ने आफ्नो फैसलालाई पुनरावलोकन गर्ने आदेश गरेको हो ।

न्यायाधीशहरू सपनाप्रधान मल्ल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले फैसला पुनरावलोकन हुनुपर्ने माग सहितको निवेदनलाई ‘निस्सा दिने’ आदेश गरेको हो । अब तीन सदस्यिय न्यायधीशको पूर्ण इजलासले यसअघिको संयुक्त इजलासले गरेको फैसलाको न्यायिक परिक्षण गर्नेछ ।

गुरुङविरुद्ध २१ माघ २०७५ मा नै भ्रष्टाचार मुद्दा दायर भएको थियो । मुद्दा अदालतमा विचाराधीन रहेकै समयमा उनी २०७९ मंसिरको प्रतिनिधिसभाको निर्वाचनमा मनाङबाट उम्मेदवार बनेर विजयी बनेका थिए । गुरुङ निर्वाचनमा विजयी बनेपनि अख्तियारले अदालतमा विचाराधीन मुद्दा अन्तिम किनारा नलागेसम्म उनी स्वतः स्वत निलम्बनमा हुनुपर्ने बताउँदै संसद् सचिवालयमा पत्र लेखेको थियो । अख्तियारको पत्रको आधारमा संसद् सचिवालयले सांसद गुरुङलाई २०७९ पुस १२ गते निलम्बन गरेको थियो । संसद सचिवालयको निलम्बनविरुद्ध गुरुङ सर्वोच्च गएका थिए । सर्वोच्च अदालतको संयुक्त इजलासले निलम्बनमा राख्ने निर्णय कानुन सम्मत नभएको फैसला सुनाएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज