चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चितवनमा मंगलबार ठगी सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । लामिछानेविरुद्ध कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतमा सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि मुद्दा दायर भएको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालय चितवनले लामिछानेसहित रामबहादुर खनाल, रविना रिमाल, विशाल तामाङ, नविन अछामी, कविता तामाङ, असरफ अली सिद्धिकीविरुद्ध ठगीमा मात्र मुद्दा दायर गरेको छ । त्यसैगरी जिबी राई, सागर केसी, हेमन्त अधिकारी, आशिष राना मगर, अनन्तबाबु राई, भूपेन्द्र राई, देवेन्द्र राई, दिनेश रोका, कुमार रम्तेल, छविलाल जोशी, दिपक लामा र नेत्रप्रसाद बाँस्तोला समेत गरी १२ जनालाई संगठित अपराध र ठगी दुवै कसुरमा मुद्दा दायर भएको बताइएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले चितवनमा लामिछाने आफैंले सहकारीबाट पैसा लगेको नदेखिएकोले ठगी कसुरमा मात्र मुद्दा दायर गरेको जनाएको छ ।