काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा थुनामा रहेका बेचन झाको मुद्दामा सर्वोच्च अदालतले मिसिल मगाउने आदेश दिएको छ। न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको इजलासले मंगलबार उक्त आदेश जारी गरेको हो।
झा काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध पुनरावलोकनका लागि उच्च अदालत पाटन हुँदै सर्वोच्च अदालत पुगेका थिए। उनी पूरक अभियोगपत्रमार्फत शरणार्थी प्रकरणमा संलग्न रहेको भन्दै आरोपित भएका थिए। पहिलो अभियोगपत्र दायर हुनुअघि फरार रहेका झा पछि भारतमा पक्राउ परेका थिए। नेपाल ल्याएपछि सरकारले जिल्ला अदालत काठमाडौँमा पूरक अभियोगपत्र दर्ता गरेको थियो।
जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने निर्णय गरेपछि झाले उक्त आदेश उच्च अदालत पाटनमा चुनौती दिएका थिए। पाटन अदालतले पनि जिल्ला अदालतकै आदेश सदर गरेपछि उनी माघ २ गते सर्वोच्च अदालत पुगेका थिए।
झाले आफूलाई थुनामा राख्ने आदेश खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन्। सोही विषयमा सर्वोच्चले माघ ३ गते प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरिसकेको छ।