चितवन । चितवनको सहारा सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रविविरुद्ध सङ्गठित अपराधमा मुद्दा नचलाएको भन्दै रातारात महान्यायाधिवक्ता कार्यालयले चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलको सरुवा गरेको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले मङ्गलवार (हिजो) सहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम हिनामिनासम्बन्धी मुद्दामा लामिछानेविरुद्ध सहकारी ठगीको कसुरमा मात्रै मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ता गरेको केही समय भित्रै रविविरुद्ध सङ्गठित अपराधको कसुरमा मुद्दा दर्ता नगरेकोमा असन्तुष्ट महान्यायाधिवक्ताको कार्यालयले लुइँटेलको सरुवा गरेको हो । लुइँटेललाई महान्यायाधिवक्ता कार्यालयमा तानिएको छ ।
स्रोतका अनुसार महान्यायाधिवक्ता रमेश बडालले लुइँटेलको सरुवा गरेका हुन् । चितवनमा उच्च सरकारी वकिल कार्यालय बुटवलमा कार्यरत रवि न्यौपानेलाई पठाइएको छ ।
स्रोतका अनुसार रविविरुद्ध जसरी पनि सहकारी ठगीसँगै सङ्गठित अपराध मुद्दा चलाउन लुइँटेलमाथि दबाब थियो । तर, सङ्गठित अपराध निवारण ऐनको व्याख्या गरी रविमाथि यो कानुन आकर्षित नहुने सरकारी वकिल कार्यालयको निष्कर्ष थियो । त्यसै अनुसार रवविरुद्ध सङ्गठित अपराधको कसुर आकर्षित हुने आधारहरू नभेटिएको भन्दै सरकारी वकिल कार्यालयले ठगी मुद्दामा मात्रै मुद्दा चलाउने निर्णय गरेको थियो । स्रोत भन्छ, मुद्दा दर्ताको केही समय पछि नै शान्ति सरको सरुवा भएको भन्ने सुन्यौँ ।
महान्यायाधिवक्ता कार्यालयले जिल्ला न्यायाधिवक्ता लुइँटेलको सरुवा भएको पुष्टि गरेको छ । तर कार्यालयले रवि लामिछानेसम्बन्धी मुद्दाको कारण नभई एक वर्ष अवधि पुग्न लागेकाले सरुवा भएको दाबी गरेको छ ।