अध्यादेशलाई के गर्ने भन्ने दाेधारमा जसपा नेपाल, पक्ष कि विपक्षमा भन्ने विषयमा आज निर्णय लिने

काठमाडौं । सरकारले ल्याएको अध्यादेशको पक्षमा उभिने कि विपक्षमा भनेर जसपा नेपालले आज औपचारिक निर्णय गर्दै छ ।

सुझाव कार्यदल संयोजक राजकिशोर यादवले आज बिहान नौ बजे पार्टी अध्यक्ष उपेन्द्र यादवलाई प्रतिवेदन बुझाएपछि ११ बजे संसदीय दलको बैठक बसे अध्यादेशबारे निर्णय गर्ने सो पार्टीका नेताहरुले बताएका छन् ।

सरकारले ल्याएका ६ अध्यादेशको पक्षमा उभिने कि विपक्षमा भनेर जसपा नेपालले मुख खोलेको छैन । यसबारे निर्णय गर्नुअघि उसले विज्ञहरुसँग छलफल समेत गरेको थियो ।

विज्ञहरुसँगको छलफलको आधारमा तयार पारिएको प्रतिवेदन आज बिहान नौ बजे पार्टी अध्यक्ष उपेन्द्र यादवलाई कार्यदल संयोजक राजकिशोर यादवले बुझाउन लागेका हुन् । त्यसपछि ११ बजे संसदीय दलको बैठक बसेर अध्यादेशबारे निर्णय लिने यादवले बताए ।

मन्त्रिपरिषदको सिफारिसमा गत पुस १४ गते राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए ।

त्यसपछि आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह, भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन, निजीकरण (पहिलो संशोधन) र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) सम्बन्धी अध्यादेश जारी भएका थिए ।

अध्यादेशलाई संघीय संसदका दुवै सदनले पास नगरे निष्कृय हुने भएकाले सत्ता पक्षले राष्ट्रिय सभामा निर्णायक देखिएको जसपा नेपालको साथ खोजेको छ । अध्यादेशको विपक्षमा रहेका दलहरुले पनि जसपा नेपालका अध्यक्ष यादवसँग छुट्टै छलफल गरेका

छन् । ती अध्यादेशबारे प्रतिनिधि सभामा ५० र राष्ट्रिय सभामा १६ वटा अस्वीकृतको सूचना दर्ता भएको छ ।

बुधबार सत्ता साझेदार दल कांग्रेस र एमालेका शीर्ष नेताहरुले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल समेत गरेका थिए ।

बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाले यादवसँग बुढानीलकण्ठमा बोलाएर छलफल गरेको जसपा स्रोतले बतायो । स्रोतका अनुसार आज प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि यादवलाई भेट्न बोलाएका छन् ।

जसपा नेपालका नेताहरु फरक फरक अध्यादेशमा जसपा नेपालको धारणा पनि फरक–फरक भएको बताउँछन् । त्यसैले जसपा नेपाल कुनै अध्यादेशको पक्षमा र कुनैको विपक्षमा उभिने सम्भावना छ ।

खासगरी भूमि सम्बन्धी अध्यादेश पास गर्न नहुने मत जसपा नेपालमा बलियो छ । जसपा नेपालका नेता रामकुमार शर्मा कार्यकर्तालाई जग्गा बाँड्ने उद्देश्यले सरकारले भूमि सम्बन्धी अध्यादेश ल्याएको आरोप लगाउँछन् । ‘हाम्रा जंगल क्षेत्र मासिएका छन्, सार्वजनिक जग्गा व्यक्तिका नाममा पास गरेर खरिदबिक्री भएका छन्,’ शर्माले भने, ‘अहिलेको अध्यादेशले त्यो कामलाई बल पुर्‍याउने आशंका हामीलाई छ ।’

त्यसैले देश र जनताको हितलाई ध्यानमा राखेर पार्टीले अध्यादेशबारे निर्णय गर्ने उनी बताउँछन् । ‘आज कार्यदलले बुझाउने प्रतिवेदनमा हामी छलफल गर्छौं र जे निर्णय गर्दा देश–जनताको हित हुन्छ, त्यही गर्छौं,’ शर्माले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज