दिगो गाडी विक्रेता एन ई भि नेपाल प्रा.ली. द्वारा २ महिना देखि ग्राहकको गाडी कब्जा, ग्राहकले क्षतिपूर्ति माग्दै अदालतमा हाले मुद्दा 

काठमाडौँ । नेपालका लागि दिगो गाडीको विक्रेता कम्पनी एन ई भि नेपाल प्रा.ली.ले ग्राहकलाई बिक्री गरेको एउटा गाडी २ महिना देखि जर्वजस्ति कब्जामा लिएको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा परेको छ । दिगो गाडी खरिद गरेका विशाल ढकालले उक्त कम्पनीले गैर कानुनी रूपमा आफ्नो गाडी कब्जा लिएको भन्दै कानुनी कारबाही तथा क्षतिपूर्ति दाबी माग गर्दे मुद्दा दायर गरेका हुन।

ढकालले १८ महिना अगाडी दिगो कम्पनीको इलेकट्रोनिक माइक्रो भ्यान ४५ लाख ५० हजारमा खरिद गरेका थिए । गाडी खरिदका लागि उनले ३१ लाख पचासी हजार  रकम एन एम बि बैङ्क ली. नक्साल शाखा मार्फत एन ई भि नेपाल प्रा.ली. को बैङ्क खाता नं.०७६०१४५८९८२०००१३ भुक्तानी गरेको र बाँकी रकम समेत केही चेक र केही नगद समेत गरी सम्पूर्ण रकम भुक्तानी गरेका थिए । रकम भुक्तानी गरेपछि एन ई भि नेपाल प्रा.ली.यातायात कार्यालय मार्फत ढकालका नाममा बागमती प्रदेश ०३–००१ ज ०४७४ नंम्बरको उक्त गाडी नामसारी समेत गरिसकेको छ । ढकालले २ महिना अगाडी गाडी सर्भिससङका लागि पेप्सिकोला स्थित दिगो कम्पनीको सर्भिस सेन्टरमा लगेका थिए । तर कम्पनीका म्यानेजर आशिष् प्याकुरेलले गाडीको ४ लाख ९६ हजार रुपैयाँ पैसा तिर्न बाँकी रहेको भन्दै उनको गाडी कब्जामा लिएका हुन ।

 

ढकालले उक्त गाडी विजय किल्ला कम्पनीमा राखी काठमाडौँबाट बर्दिबास जनकपुर रुटमा सञ्चालन गर्दै आइरहेका थिए । सर्भिससङका लागि लगेको गाडी विक्रेता कम्पनीले जवर्जस्ति कब्जा गरेपछि ढकाल २ महिना देखि तनावमा छन् । उनी भन्छन्, मैले डाउन पेमेन्ट बुझाएर बैङ्कबाट लोन लिएर गाडी किनेको हुँ । २ महिना अगाडी सम्म मैले बैङ्कमा नियमित किस्ता समेत बुझाइरहेको थिए । तर अहिले कम्पनीले पैसा तिर्न बाँकी छ भन्दै मेरो गाडी कब्जा गरे । मैले सबै पैसा तिरेर गाडी पास भएको हो । मैले पैसा तिर्न बाँकी थियो भने कम्पनीले किन गाडी पास गरेर दिन्थ्यो होला ? उनले प्रश्न गरे ।

उनी भन्छन्, मैले गाडी बुक गर्दा कम्पनीले २०२४ को नयाँ मोडेलको गाडी दिन्छौ भनेको थियो तर दिने बेलामा २०२३ को पुरानो मोडलको गाडी दियो । फास्ट चार्जर दिन्छौ भनेको थियो । त्यो पनि दिएन । गाडी किनेको १ वर्ष पनि भएको थिएन । गाडीमा समस्या आयो मैले वारेन्टी दाबी गरेँ तर समय सकिसक्यो भन्दो वारेन्टीको सुविधा पनि दिइएन । मैले १ लाख रुपैयाँ खर्च गरेर गाडी बनाए । अहिले आएर ब्याट्रीमा समस्या आयो अनि सर्भिससङमा लगेको उल्टै मेरो गाडी नै जर्वजस्ति कब्जा गरे । उनले अगाडी भने, मैले धेरै पटक गाडी फिर्ता गर्न अनुरोध गरेँ उनीहरूले मानेनन् । म बैङ्कमा पनि गएँ । बैङ्कले तपाईँले किस्ता तिरिरहनु भएको छ । हामीले गाडी तान्न मिल्दैन, कानुनी उपचारमा जानुस् भन्यो । अनि मैले मुद्दा दायर गरेको हुँ ।

आफ्नो नाममा रहेको गाडी गैर कानुनी रूपमा कब्जामा लिएको भन्दै उनले काठमाडौं जिल्ला अदालतमा न्याय प्रशासन ऐन, २०७६, मुलुकी देवानी कार्यविधि संहिता, २०७४, उपभोक्ता संरक्षण ऐन, २०७५ लगायतका कानुनी धाराहरूको उल्लङ्घन भएको भन्दै आफ्नो गाडी फिर्ता तथा क्षतिपूर्ति माग गरेका छन्। उनले आफ्नो आर्थिक तथा मानसिक क्षतिको लागि कानुनी राहत पाउनुपर्ने उल्लेख गरेका छन्।

यस सम्बन्धमा बुझ्न एन ई भि नेपाल प्रा.ली.का म्यानेजर आशिष् प्याकुरेलसँग सम्पर्क गर्दा उनले ढकालले ४ लाख ९६ हजार रुपैयाँ पैसा तिर्न बाकि रहेको सिस्टममा देखाएकोले गाडी कब्जा गरेको स्वीकार गरे । उनले भने, हामीले ढकालजीलाई आधा पैसा अहिले दिनुस् बाँकी किस्तामा दिनुस् भनेका पनि हौ । उहाँले मान्नु भएन र मुद्दा मामिलामा लाग्नु भएछ ।

ढकालले पुरै पैसा नतिरी तपाईँहरूले किन गाडी पास गरेर दिनु भएको भन्ने प्रश्नको जवाफमा म्यानेजर प्याकुरेलले गुड फेथका आधारमा आफूहरूले गाडी पास गरिदिएको कानुन खबरलाई बताए । उनले भने, अटो सेक्टरमा गुड फेथबाटै काम हुन्छ । म १३ वर्ष देखि यही क्षेत्रमा छु । एउटा समझदारीमा ग्राहकालाई गाडी दिने चलन छ ।

उहाँले कानुनी प्रक्रियामा जानुभएको हामीलाई थाहा भएन, म्यानेजर प्याकुरेलले भने हामी कानुनी प्रक्रियाबाटै यसको जवाफ दिन्छौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज