काठमाडौँ । काठमाडौंको ठमेलमा ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गर्ने अखिल नेता कमलराज जोशीलाई ‘उन्मुक्ति’ दिँदै घटनामा संलग्न अन्य पाँच जनाविरुद्ध भने पक्राउ पुर्जी जारी गरिएको छ । राजनीतिक दवाबका कारण उच्च पदस्थ प्रहरी अधिकारीहरुले नै घटनाका मुख्य नाइके जोशीलाई पक्राउ नगर्न आफूमातहतका अधिकारीहरुलाई दवाव दिएको श्रोत बताउँछ । जोशीलाई प्रहरीले सोधपुछसम्म पनि गरेको छैन ।
काठमाडौँ महानगरपालिका–२७ ज्याठा स्थित छाया सेन्टर अगाडी माघ २४ गते आइतबार ड्युटीमा खटिएका प्रहरी जवान नगेन्द्रराज विष्ट र हवल्दार जुगलाल घर्तीलाई एमाले निकट अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशीसहितको समूहले आक्रमण गरेको थियो । सडकमा हल्ला गरेपछि सम्झाउँदा आफूहरूमाथि आक्रमण गरेको प्रहरीले बताएका छन् । हवल्दार घर्तीको टाउको र छातीमा चोट लागेको छ । जवान विष्टको आँखामा चोट लागेको छ ।
प्रहरीमाथि आक्रमण गरेको आरोपमा ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ का २२ वर्षीय रमेश फुलारा पक्राउ परेका थिए । फुलारा ठमेल स्थित अस्कल क्याम्पसको स्ववियु सह–सचिव हुन् । सिग्देल अनेरास्ववियु अमृत साइन्स क्याम्पस कमिटी सदस्य हुन् । उनीहरु दुवैविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारको कसुरमा पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेका यी दुई जनाबाहेक नवीन ऐरी, सौजन्य शाही र गोपालबहादुर शाहीविरुद्ध पनि पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी भएका पाँचजना सँगै रहेका जोशीविरुद्ध भने पक्राउ पुर्जी जारी भएको छैन ।