काठमाडौं । प्रारम्भिक बाल विकास (ईसीडी) शिक्षा प्रणालीलाई दुई वर्षे बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत गठित समितिले सिफारिस गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माको नेतृत्वमा बनेको समितिले शिक्षामन्त्री विद्या भट्टराईलाई बिहीबार प्रतिवेदन बुझाउँदै दीर्घकालीन रूपमा ईसीडीलाई दुई वर्षे बनाउनु पर्ने सुझाव दिएको हो।
हाल अनिवार्य तथा निःशुल्क शिक्षा ऐनअनुसार ईसीडी एक वर्षे छ, जसलाई दुई वर्षे बनाउन कानुनी संशोधन आवश्यक पर्ने समितिको निष्कर्ष छ। निजी विद्यालयहरूले भिन्न अभ्यास गरिरहेका कारण तत्कालका लागि मापदण्ड तयार पार्नुपर्ने सुझाव समेत प्रतिवेदनमा समावेश छ।
शिक्षामन्त्री भट्टराई भने ईसीडीलाई एक वर्षमै सीमित राख्नुपर्ने पक्षमा छिन्। उनले साना बालबालिकालाई चार वर्षसम्म विद्यालय पठाउनु उचित नहुने बताउँदै किताब/कापीको बोझ हटाई खेल, गीत र भिडियोमार्फत सिकाइ प्रक्रियालाई सहज बनाउनुपर्नेमा जोड दिएकी छन्।
समितिले डे केयर सेन्टर आवश्यक पर्ने अभिभावकहरूको मागलाई समेत सम्बोधन गर्दै प्रतिवेदन तयार पारेको जनाएको छ। साथै, नेपालले दुई वर्षे प्रारम्भिक बाल शिक्षा अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार अघि बढाउनुपर्ने सुझाइएको छ।