भारतमा लुकेर बसेका सिंह १२ वर्षपछि समातिए, कैद भुक्तान पूरा नभएको भन्दै जगन्नाथ कारागार चलान

काठमाडौं । भारतमा लुकेर बसेका देवसिंह ठकुरी भन्ने दीपकबहादुर सिंह १२ वर्षपछि समातिएका छन् । कैलाली प्रहरीले जिल्ला कारागारमा कैद भुक्तान गरिरहेको अवस्थामा भागेको १२ वर्षपछि पक्राउ गरेर उनलाई जगन्नाथ कारागार पठाएको छ ।

कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेको अवस्थामा कारागारबाट भागेर हालै भारतबाट पक्राउ गरिएका सिंहलाई शनिबार काठमाडौंको सुन्धारामा रहेको जगन्नाथ देवल कारागार पठाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्र सिंह बोहराले गोदावरी नगरपालिका–११, ओलानीका सिंहलाई कैलाली कारागारबाट स्थानान्तरण गरेर जगन्नाथ देवल कारागार पठाइएको बताए ।

उनलाई श्रीएयरलाइन्सको विमानबाट काठमाडौं लगिएको हो । २४ फागुन २०६४ मा गोदावरी नगरपालिका–७ बस्ने भक्तबहादुर भन्ने बमबहादुर साउदको सिंहले गोली प्रहार गरी हत्या गरेका थिए । सोही मुद्दामा जिल्ला अदालतले २७ मंसिर २०६७ मा ११ असार २०६६ देखि लागू हुने गरी सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

कैलाली कारागारमा कैद भुुक्तान गरिरहेको अवस्थामा सिंह २२ साउन २०६९ मा भागेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुुर चन्द नेतृत्वको टोलीले सिंहलाई १२ वर्षपछि २९ माघमा नेपाल–भारत सीमा क्षेत्रमा पर्ने कञ्चनपुरको गड्डाचौकीबाट पक्राउ गरेको थियो ।

१२ वर्षदेखि भारतमा लुकेर बसेका सिंह चोरी मुद्दामा एक हप्ता अगाडी मात्र धरौटीमा छुुटेका थिए । उक्त सूचनाका आधारमा कैलाली प्रहरीको टोली उनको खोजीमा जुटेको थियो । स्रोतकाअनुसार सिंहलाई प्रहरीले भारतको दिल्लीबाटै पक्राउ गरेर ल्याएको थियो ।

प्रहरीकाअनुसार सिंह साउदको हत्या मुुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेको अवस्था भागेपनि उनीमाथि अन्य मुद्दामा पनि छन् । सिंहले साविकको गोदावरी गाविस–६ बस्ने तेजबहादुर बडैला र मोहन सिंह बडैलासँग मिलेर २ असोज २०६२ मा मानबहादुुर सुनारको हत्या गरेको मुद्दा दर्ता भएको थियो ।

तर, उक्त मुद्दाको मिसिल जिल्ला सरकारी वकिलको कार्यालयबाट मिसिल फिर्ता भएर पेश हुन बाँकी छ । यस्तै सिंहमाथि धनगढी–१ फुलबारी बस्ने सोभान टमटाको जाहेरीले अपहरण गरी शरीर बन्धक बनाएको अपहरण तथा शरीर बन्धकको मुद्दा समेत लागेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज