काठमाडौं । नेपालमा सम्भवतः पहिलो पटक कुनै बहालवाला सांसदविरुद्ध संसद्कै अर्को सदनबाट खेद प्रस्ताव पारित भएको छ। प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले राष्ट्रिय सभाको कामकारवाहीका सन्दर्भमा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय सभाले औपचारिक रूपमा खेद प्रकट गरेको हो।
सांसद शाहीले संसदीय मर्यादाविपरीत टिप्पणी गरेको भन्दै राष्ट्रिय सभाका सदस्यहरूले आपत्ति जनाएका थिए। यस विषयमा विधायन व्यवस्थापन समितिको बैठकमा समेत छलफल भएपछि २०७९ माघ २८ गते बसेको राष्ट्रिय सभाको बैठकले खेद प्रस्ताव पारित गर्यो।
सार्वजनिक पदमा आसिन व्यक्तिले समाजलाई मार्गदर्शन गर्ने भूमिका निर्वाह गर्नुपर्ने भए पनि संसद् भित्रै अर्को सदनको गरिमा खण्डित हुनेगरी गैर जिम्मेवार अभिव्यक्ति दिएको भन्दै खेद प्रस्ताव ल्याउनुपरेको सांसदहरूले बताएका छन्।
सांसदविरुद्ध संसद्बाट पारित यस्तो प्रस्ताव नेपालको संसदीय इतिहासमा दुर्लभ घटना भएको विज्ञहरूको विश्लेषण छ। यस्तो कदमले संसदीय अभ्यासमा नयाँ नजिर स्थापित गरेको र सांसदहरूलाई जिम्मेवार बनाउने अपेक्षा गरिएको छ।