बेलुन विस्फोट प्रकरण: भारतीय व्यापारी हिरासतमा, सामाजिक सञ्जालमा बहस

पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को घोषणा समारोहमा बेलुन विस्फोट भई उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भएका घटनामा प्रहरीले भारतीय नागरिक कमलेश कुमारलाई हिरासतमा राखेको छ।

भारतको बिहार मोतिहारी निवासी ४१ वर्षीय कमलेश कुमारलाई पोखरा प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा लिएको हो। प्रहरीले उनलाई व्यवसाय कतै दर्ता नगरी सञ्चालन गरेको र बेलुनमा प्रयोग भएको ग्यासको पहिचान गर्न आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

फागुन ३ गते पोखरा भ्रमण वर्ष २०२५ को ब्यानर सहितको बेलुन उडाउन लाग्दा नजिकैको झिरझिरे झिल्काले भेटेर ठूलो आवाजका साथ विस्फोट भएको थियो। उक्त घटनाबाट अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए। घटनालगत्तै प्रहरीले कमलेशलाई नियन्त्रणमा लिएको थियो।

सरकारले घटनाको सत्यतथ्य पत्ता लगाउन प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। समितिले घटनाको विस्तृत अध्ययन गरिरहेको छ।

बेलुन व्यापारीलाई मुख्य दोषी देखाएर पक्राउ गरिनु गलत भएको भन्दै सामाजिक सञ्जालमा बहस चर्किएको छ। अधिवक्ता माधवकुमार बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, बेलुन बेच्ने व्यक्तिलाई कसुरवार देखाउनु अन्यायपूर्ण हो। कार्यक्रम आयोजककै निर्देशनमा बेलुन उडाइएको थियो। मुखले फुकेको वा पम्पले हावा हालेको बेलुन त उड्दैन, त्यसैले ग्यास हाल्नैपर्ने स्थिति थियो।

सामाजिक सञ्जालमा धेरैले यस घटनामा निष्पक्ष छानबिनको माग गरेका छन्। सामान्य व्यापार गरेर जीविकोपार्जन गर्ने व्यक्तिलाई दोषी देखाउनुको सट्टा आयोजकको जिम्मेवारीबारे पनि प्रश्न उठ्न थालेका छन्। छानबिन समितिको प्रतिवेदनपछि मात्र घटनाको यथार्थ बाहिर आउने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज